बाग्मती

पछिल्लो समय कुखुरापालन व्यवसाय सङ्कटमा

चितवन । देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा सङ्कट देखापरेको हो ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार लागतभन्दा निकै कम मूल्यमा चल्ला बिक्री गर्नसमेत कठिन भएको छ । नेपालमा २५३ वटा ह्याचरी छन् । तीमध्ये १४ वटा लेयर्स ह्याचरीले सातामा एक लाख ९० हजार चल्ला उत्पादन गर्छन् भने २५ वटा कोइलर ९रातो ब्वायलर०ले चार लाख चल्ला उत्पादन गर्छन् ।

अन्य ब्वायलर ह्याचरीले ३४ लाख चल्ला उत्पादन गर्ने पोख्रेलको भनाइ छ । ती चल्लामध्ये ब्वायलरको लागत मूल्य प्रतिगोटा रु ५५ पर्छ । तर बजारमा रु ३० मा बिक्न कठिन छ । रु ९५ पर्ने लेयर्स कुखुराको चल्ला रु ६० मा बिक्न मुस्किल छ भने कोइलरको चल्ला लागत मूल्य हाराहारी रु ३० मा बिक्न कठिन भएको पोख्रेलले बताए ।

उत्पादन बढेसँगै खपत नहुँदा चल्ला बिक्न मुस्किल भएको व्यवसायीहरु बताउँछन् । चल्ला नबिकेपछि कतिपयले खाल्डो खनेर पुर्न बाध्य भएका छन् । कतिपयले अनौपचारिक रुपमा भारतीय व्यवसायीसँग मिलेर भाले लागेको अण्डा र चल्ला निर्यात गरेका छन् । भारतमा भन्दा यहाँ चल्लाको मूल्य सस्तो भएपछि सातामा करिब पाँच लाख चल्ला र एक लाख अण्डा भारत जाने गरेको जनाइएको छ ।

व्यवसायीहरुले भाले नलागेको अण्डा बजारमा बिक्रीसमेत गर्ने गरेको बुझिएको छ । पोख्रेलका अनुसार २०७२ सालमा भन्दा ७८ प्रतिशत बढी ब्वायलर चल्ला, शत्प्रतिशत लेयर्स चल्ला र दुई सय प्रतिशत कोइलर चल्ला बढी उत्पादन भएको छ ।  गत सालभन्दा २५ प्रतिशत बढी ब्वायलर, ४० प्रतिशत बढी लेयर्स र दोब्बर कोइलर चल्ला उत्पादन भएको छ । असारसँगै १० लाख बढी लेयर्स चल्ला उत्पादन हुँदैछ । हाल फार्महरुमा ३० लाख ब्वायलर प्यारेन्ट, एक लाख ५० हजार लेयर्स प्यारेन्ट र ५० हजार कोइलर चल्ला रहेका छन् ।

अण्डाको उत्पादन बढेपछि माग हुन नसक्दा बिक्न कठिन भएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सङ्घले तोकेको मूल्यमा अण्डा बिक्न सकेको छैन ।

हाल अण्डाको लागत मूल्य रु १० पर्ने भए पनि बिक्री मूल्य सरदर रु सात मात्र रहेको छ । देशका विभिन्न ठाउँमा कृषकको अण्डा बिग्रिएर गाड्नुपर्ने अवस्था छ । उच्च तापक्रमका कारण लामो समय भण्डारण गर्न नमिल्ने भएकाले बिक्रीका लागि कुर्दाकुर्दै धेरै अण्डा खेरा फाल्नु परेको कँडेलको भनाइ छ ।

दैनिक ४० लाख अण्डा उत्पादन हुने गरेको छ । यो गतवर्ष भन्दा ४० प्रतिशत बढी भएको उहाँको भनाइ छ । देशभर लेयर्स कुखुरा पाल्ने फार्मको सङ्ख्या सात हजारभन्दा बढी छ । हाल सङ्घले फार्मबाट ठूलो अण्डा प्रतिक्रेट रु २५० र सानो रु १८० तोकेको भए पनि सो मूल्यमा बिक्री हुन नसकेको सङ्घका केन्द्रीय सचिव मदन पोख्रेलले बताए।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट सरकारको नीतिका कारण व्यवसाय सङ्कटमा पुगेको दाबी गर्नु हुन्छ । हालै मात्र देशका विभिन्न ठाउँमा बर्डफ्लु देखापर्दा तत्काल नियन्त्रणमा लिन नसक्दा समस्या उत्पन्न भएको हो । मकवानपुरमा बर्डफ्लु देखिएको एक महीनापछि मात्र सो क्षेत्र नियन्त्रणमा लिने काम भएको भन्दै यसले ठूलो क्षति पु¥याएको विष्टको भनाइ छ ।

संवेदनशील विषय भएर पनि पोल्ट्रीसँग सम्बन्धित विषयलाई हल्का रुपमा सरकारी निकायहरुले लिँदा दीर्घकालीन प्रभाव देखिएको बिष्टले बताए । यस क्षेत्रमा लगानी बढ्दो रहेको भन्दै उनले पोल्ट्रीसँग सम्बन्धित सबै क्षेत्रमा गरी रु एक खर्ब २५ अर्ब हाराहारी लगानी पुगेको र त्यसको आधा बैंकिङ लगानी रहेको विष्टले बताए। आफ्नो मात्र यस क्षेत्रमा रु छ अर्ब नाघेको भन्दै उहाँले रु चार अर्ब ५० करोड थप्दै गरेको बताए ।

पछिल्लो समय दानाको मूल्य गत वर्षको तुलनामा २५ प्रतिशत बढेसँगै कृषकले चल्ला र दाना उधारो पाउन सकेका छैनन् । रोगका कारण हच्किएका साना किसानले व्यवसाय गर्न नगद लगानी गर्नुपर्ने भएपछि कुखुरा पाल्न छोड्ने क्रमसँगै व्यवसायमा थप सङ्कट देखापरेको छ ।