अन्तर्राष्ट्रिय

कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु

चाङ्शा । चीनको हुनान प्रान्तमा भएको कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लोङटान नगरको झिङलोङ कोइला खानीमा मङ्गलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पुर्‍याइए पनि पाँच जनाको ज्यान गएको थियो ।

घाइते एक मजदूरको अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा खानीको सुरुङभित्र एकाएक फैलिएको विषालु ग्याँसका कारण मजदूरहरु सख्त घाइते भएको देखिएको छ । ग्याँसका कारण सुरुङभित्र अक्सिजनको अभाव भएको थियो ।
स्थानीय सरकारले खानी दुर्घटना न्यूनीकरण गर्न आदेश दिएको छ ।