राजनीति

‘विप्लव’ समूहको समस्या ओली सरकारले समाधान गर्नुपर्छ- वरिष्ठ नेता पौडेल

डोटी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिएका छन् ।

देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए । उनले भने, “विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ ।”

नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत लगाए । उनले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गरे । देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उनले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाए ।

उनले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गरे । त्यस्तै नेता पौडेलले दिपायलमा रहेका काङ्ग्रेसका संस्थापक नेता अर्जुनसिंह कठायतको नवनिर्मित सालिकको उद्घाटनसमेत गरेका थिए।