राजनीति

गिरिजाप्रसाद कोइरालाले नै गणतन्त्र ल्याउनुभएको होः सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज शुभकामना सन्देशमा गणतन्त्र दिवस–२०७६ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

“नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात नेपाली काङ्ग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो”, विज्ञप्तिमा भनिएको छ ।

काङ्ग्रेसले नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई मुलुक नयाँ मोडमा अगाडि बढेको बताएको छ ।

नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने कांग्रेसले जनाएको छ ।