बाग्मती

थारू जातिलाई सूचीकरण गर्न समस्या

रत्ननगर । थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले नेपालमा रहेका थारू जातिलाई सूचीकरण गर्न समस्या भएको बताएका छन्। मङ्गलबार चितवनको सौराहामा आयोगले आयोजना गरेको थारू अगुवाहरुसँगको छलफल कार्यक्रममा उनले थारू जातिको अवस्था पत्ता लगाउन नेपालको पश्चिम क्षेत्रबाट सूचीकरणको काम थालनी गरे पनि त्यहाँका राना, कठोरिया, दङगोरिया, चितोनिया जातिले थारू क्लस्टरमा बस्न नमानेको बताए।

उनले पूर्वमा यही समस्या देखापर्नेमा आशङ्का गरे । नेपालभर ६ दशमलव ७ प्रतिशत थारू जातिको बसोबास भए पनि सूचीकरण गर्न असहज भएको उल्लेख गरे। चौधरीले समुदायको समस्या समाधान गर्न पुलको रूपमा आयोग गठन भएको जानकारी दिँदै थारू हकहित संरक्षणका लागि थारू एकजुट हुनुपर्ने बताए। थारू आयोगले थारू जातिको हकहितका लागि सरकारलाई सुझाव सिफारिस गर्ने काम गर्दछ ।

कार्यक्रममा थारू अगुवा सञ्जय चौधरीले थारू जातिलाई छुट्याएको बजेट लक्षित वर्गमा नपुगी विकास निर्माणमा खर्च भइरहेको भन्दै यो परम्पराले उनीहरुको जीवनमा कुनै पनि सुधार नआउने धारणा राखे। उनले थारू जातिको जीवनस्तरलाई उकास्न स्वरोजगार र उत्पादनमुखी शिक्षामा जोड दिनुपर्ने सुझाव दिए। त्यस्तै अर्का अगुवा टेकेन्द्र चौधरीले थारूको पेशा, भाषा, संस्कृतिलाई प्रवद्र्धन गर्न आयोग अगाडि बढ्नुपर्ने बताए ।

थारू महिला अगुवा लक्ष्मी चौधरीले आदिवासी थारू जातिलाई भूमिपुत्रका रूपमा चिनिँदै आइएको भए पनि अहिले धेरै भूमिहीन भएको बताए। उनले थारूहरु आफ्नो समस्या लिएर सम्बन्धित निकायमा नजाने भएकाले अहिले पनि लालपुर्जाविहीन अवस्थामा रहेको भन्दै यो समस्यामा आयोग गम्भीर बन्नुपर्नेमा जोड दिए। कार्यक्रममा आयोगका सचिव आनन्दराम रेग्मीले आयोगको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा थारू आयोगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सुझाव सङ्कलन गरिएको थियो । कार्यक्रममा थारू कल्याणकारीसभामा आबद्ध र आगुवाहरु गरी ४० बढीको सहभागी थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, डा मनोज चौधरी, कारी महतो, भजुवनराम महतो, हेमराज महतो, जोगेन्द्र महतो, दर्शन चौधरी, रामेश्वर महतो लगायतले धारणा राखेका थिए ।