पु.समाचार

सुशासन र विकास सरकारको पहिलो प्राथमिकता हुन्, गणतन्त्रमा गरिब भन्ने हुन्नः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “ जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने सङ्कल्प हामीले लिएका छौंँ । यस सङ्कल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र र व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसले नेपालीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको तथा गणतान्त्रिक संस्थाहरुको मर्यादा र गणतान्त्रिक प्रक्रियाको सम्मान गर्न सिकाएको बताउँदै गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली भएको स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध सरकार केन्द्रित रहेको बताएका छन् । “गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन् ”सन्देशमा भनिएको छ ।
वर्तमान प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपालसुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न अग्रसर भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।