राजनीति

गणतन्त्र आउनेवित्तिकै सबैकुरा पाइन्छ भन्ने सोच्नु गलतः सभापति देउवा

काठमाण्डौ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र फाल्नु परेको बताएका छन् ।

काङ्ग्रेसको प्रारम्भको सिद्धान्तअनुसार राजतन्त्र र प्रजातन्त्रलाई सँगै लैजाने कोशिश गरेको अवगत गराउँदै उनले भने, “विसं २००७ देखि नै नेताहरु विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला सबैले प्रजातन्त्रसँगै राजतन्त्रलाई लैजान खोजेकै हो, तर राजाले प्रजातन्त्रसँग हिँड्न मानेन । अन्तिममा वाक्व भएर गेटआउट गरेका हौँ ।”

काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्र एक दशक’ विशेष अन्तरक्रियामा सभापति देउवाले राजाले प्रजातन्त्रलाई सधैँ धोका दिएको उल्लेख गर्दै भने, “विसं २०१७ सालमा ‘कु’ गरेर विपीलाई जेल हाल्यो । फेरी लडाइँ लडेर प्रजातन्त्र ल्यायो फेरी राजा ठीक छ भन्यो फेरी ज्ञानेन्द्रले प्रजातन्त्र फाल्यो र मलाई जेल हाल्यो, अरू सबैलाई जेल हाल्यो ।”

काङ्ग्रेसले प्रजातन्त्र छोड्न नसक्ने र राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण गणतन्त्र ल्याउनु परेको धारणा व्यक्त गर्दै आफ्नो पार्टीले प्रजातन्त्रसँग कहिल्यै सम्झौता नगर्ने बताए । गणतन्त्रबाट फर्कने अब कुनै सम्भावना नभएको बताउँदै सभापति देउवाले आफूहरु प्रजातन्त्रसहितको गणतन्त्र चाहन्छौँ भने ।

‘लोकतन्त्रविनाको गणतन्त्रको काम छैन’

विश्वमा गणतन्त्र भएका धेरै देशहरुमा प्रजातन्त्र नभएको र कतिपय राजतन्त्र भएका देशमा पनि प्रजातन्त्र भएको उल्लेख गर्दै उनले भने, “गणतन्त्र आउनेवित्तिकै सबैकुरा पाइन्छ भन्ने पनि होइन । मुलुकमा गणतन्त्र छ तर सरकारले विभिन्न विधेयक ल्याएर प्रजातन्त्रमाथि आक्रमण गर्न खोजिरहेको छ ।”

लोकतन्त्रविनाको गणतन्त्रको काम नभएकाले लोकतन्त्रसहितको गणतन्त्रका लागि आफ्नो पार्टीले पुनः एकपटक लड्नुपर्ने बेला भएको बताउँदै सभापति देउवाले लोकतन्त्रसँगै गणतन्त्रलाई हिँडाउनु काङ्ग्रेसको कर्तव्य भएको उल्लेख गरे ।

नेपालको संविधान विश्वमै समावेशी भएका र संविधानअनुसार काङ्ग्रेसको विधान पनि पूर्ण समावेशी भएको बताउँदै उनले यो कुरा जनतामाझ पु¥याउन नेता कार्यकर्तालाई निर्देशन दिए। आफ्नो स्वार्थ भनेको पार्टीलाई बलियो बनाउनु मात्र रहेको उल्लेख गर्दै सभापति देउवाले सबैको सहयोगले मात्र पार्टीलाई एकजुट बनाउन र अन्तरघातको रोगबाट मुक्त बनाउन सकिने बताए ।

‘गणतन्त्रको एजेण्डा काङ्ग्रेसकै हो’

कार्यक्रममा पार्टी उपसभापति एवं प्रतिष्ठानका अध्यक्ष विमलेन्द्र निधिले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी र मिश्रित निर्वाचन प्रणाली नेपालका मौलिक परिवर्तन तथा उपलब्धि भएको र यस परिवर्तनमा काङ्ग्रेसको अहम् भूमिका रहेकाले यी उपलब्धिको संरक्षण र सम्वद्र्धनमा काङ्ग्रेस प्रमुख स्वामित्व लिएर जुट्नुपर्ने बताए । साथै उनले काङ्ग्रेस विपी कोइरालाको विचार र सिद्धान्तबाट विचलित भयोभन्नु भ्रम र तथ्यहीन कुरा मात्र भएको स्पष्ट पारे । महामन्त्री डा शशांक कोइरालाले नेपालमा गणतन्त्रको एजेण्डा काङ्ग्रेसको भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउन काङ्ग्रेस एकजुट र बलियो हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा प्राध्यापक कृष्ण खनालले अवधारणापत्र प्रस्तुत गर्दै काङ्ग्रेसले नै नेपालमा गणतन्त्रको अवधारणा र आवश्यकताको विकास गरेको तथा विपी कोइरालाले प्रजातन्त्रका लागि मात्र राजतन्त्रको उपयोग गरेको व्याख्या गरे । साथै उनले काङ्ग्रेसले गणतन्त्रको पूर्णस्वामित्व लिन नसक्दा गत निर्वाचनमा घाटा व्यहोर्नुपरेको तर्कसमेत गरे ।

‘काङ्ग्रेस सबै प्रजातन्त्रवादी शक्तिको छाता’

वरिष्ठ अधिवक्ता विपिन अधिकारीले गणतन्त्रका उपलब्धिको जनतालाई अनुभूति नभएसम्म गणतन्त्र सुदृढ नहुने धारणा व्यक्त गर्दै नेपालको लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेस सबै प्रजातन्त्रवादी शक्तिहरुको छाता सङ्गठन बन्नुपर्ने उल्लेख गरे ।

वरिष्ठ पत्रकार हरिहर विरहीले काङ्ग्रेस ११ औँ महाधिवेशनबाट गणतन्त्रमा गएपछि मात्र नेपालमा गणतन्त्र ल्याउन सम्भव भएको उल्लेख गर्दै गणतन्त्रमा जाने काङ्ग्रेसको निर्णय साहसी र दूरगामी भएको बताए ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, वरिष्ठ अधिवक्ता डा सूर्य ढुङ्गेल, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र पौडेल, सङ्घीय सांसद तारादेवी भट्ट, प्राध्यापक अमुदा श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुष्मा बाँस्कोटालगायतले गणतन्त्रको सुदृढीकरण र काङ्ग्रेसको भूमिकालगायत विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।

काङ्ग्रेसले गणतन्त्र दिवसका अवसरमा यही जेठ १४, १५ र १६ गते देशभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदैछ । नेपालमा २०६५ साल जेठ १५ गते तत्कालीन संविधानसभाले राजतन्त्रको विधिवत अन्त्य गरी मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो ।