राजनीति

पार्टी बलियो बनाउन काङ्ग्रेसले अहंकार र घमण्डलाई फाल्नुपर्छः नेता सिटौला

बिराटनगर । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काङ्ग्रेस पार्टीले बेथिति, अहंकार र घमण्डलाई फालेर अघि बढ्नुपर्ने बताएका छन् । विराटनगर महानगरपालिका कार्य समितिद्वारा १२औँ गणतन्त्र दिवस तथा राष्ट्रिय जागरण अभियानमा उनले पार्टीले जनभावनाअनुरुपको राजनीतिक एजेण्डा लिएर अघि बढ्नुको विकल्प नरहेको चर्चा गरे ।

पार्टीका अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनलाई पछि धकेल्न यो जागरण अभियान आएको भन्दै चिन्ता व्यक्त गरे । उनले कुबेलामा ल्याइएको जागरण अभियानबाट पार्टीलाई फायदा नपुग्ने विचार व्यक्त गरे । केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले काङ्ग्रेस जागरण अभियानले पार्टी र कार्यकर्तामा उत्साह थपिने कुरामा शङ्का नभएको जिकिर गरे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी, नेपाल महिला सङ्घका केन्द्रीय सदस्य गोमा भट्टराई र नेपाली काङ्ग्रेस विराटनगर महानगरापालिका कार्य समितिका सभापति भीम पराजुली, काङ्ग्रेसका पुराना नेता अशोक कोइराला, जिल्ला सचिव नागेश कोइरालाले आपसी फुट र गुटमा लाग्नुभन्दा पार्टीलाई कसरी बलियो बनाउने हो त्यसतर्फ नेतृत्वले सोच्ने बेला आएको धारणा राखेका थिए।