राजनीति

ओली सरकारले व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्न खोज्योः महामन्त्री कोइराला

काठमाण्डौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकार व्यक्तिगत स्वतन्त्रतालाई हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

एघारौँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको ‘हाम्रो नेपाल विद्यार्थी सङ्घ, सङ्गठित र प्रशिक्षित नेविसङ्घ प्रशिक्षण कार्यक्रम’मा उनले सरकारले प्रेस स्वतन्त्रता विरोधी कानून ल्याउन खोजेको भन्दै सरकारको विरोध गरे । महामन्त्री कोइरालाले विद्यार्थी आन्दोलन रचनात्मक ढङ्गले अगाडि बढेमात्र मुलुक समृद्ध बन्ने बताए।

काङ्ग्रेस नेता डा मीनेन्द्र रिजालले सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताए । नेता रिजालले पार्टीलाई एकताबद्ध ढङ्गले अगाडि बढाउन वर्तमान नेतृत्व लाग्नुपर्ने बताए ।

काङ्ग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले नेविसङ्घ बलियो भए मात्र पार्टी बलियो हुने छ भन्दै यसलाई बलियो बनाउन लाग्नुपर्ने बताए । काङ्ग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीलाई तल्लो तहदेखि माथिल्लो तहसम्म पुर्नजागरण गरेमा पार्टी सशक्त र पुनर्जीवन पाउने बताए ।

नेविसङ्घका नेता नीलकण्ठ रिजालले सङ्गठनलाई वैचारिक हिसाबले अगाडि बढाउन नेविसङ्घ रित्ततालाई परिपूर्ति गर्न एक दशकदेखि ‘हाम्रो नेविसङ्घ सङ्गठित र प्रशिक्षित नेविसङ्घ’ अभियान सञ्चालन गरिएको जानकारी दिए । सो अवसरमा काङ्ग्रेसका नेताद्वय गुरुङ र पाण्डेले प्रशिक्षण दिएका थिए ।