पु.समाचार

यार्सा सङ्कलनका लागि १६ नाका खुला

सुर्खेत । बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि डोल्पा र मुगु जिल्लाका १६ नाका खुला गरिएको छ । यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित गराउन डोल्पाका १४ र मुगुका दुई नाका खुलाइएको हो ।

माथिल्लो डोल्पा, सुन्दवा, छेप्का, धो, साल्दांग, भिजेर, तोइजुम, त्रिपुराकोट, खालीवन, डोल्फू, किर्मी, पलङ्ग, रिग्मुलगायतका नाकाबाट यार्सा सङ्कलकलाई प्रवेश अनुमति दिएको छ । तीमध्ये धो, सुलिगाड र तोइजुम प्रमुख नाका हुन् । से–फोक्सेन्डो राष्ट्रिय निकुञ्जले यी नाकाबाट आठ हजार यार्सा सङ्कलक पाटनमा प्रवेश गरेको जनाएको छ । यार्सा सङ्कलनका लागि सोमबार यता ५० भन्दा बढी पाटन खुलिसकेका छन् । हिउँ जमेकाले माझफाल र धो नाका पाटन खुल्न बाँकी छन् ।

विशेष सुरक्षा योजना लागू

स्थानीय प्रशासनले डोल्पाका हिमाली पाटनमा यार्सा सङ्कलनलाई सहज र अपराधमुक्त गराउन विशेष सुरक्षा योजना लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले सबै पाटनमा अक्सिजनसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । “नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारीले गस्ती गरिरहेका छन्”, उनले भने, “यार्सा सङ्कलन अवधिभर पाटनमा मदिराजन्य पदार्थ, जुवातास र खेलकूद निषेध गरेका छौँ ।”

उनले सबै पाटनमा स्याटालाइट सञ्चार सम्पर्कसहित सुरक्षाकर्मी परिचालित भइसकेका बताए । यार्सा सङ्कलकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधिसहित नौ स्वास्थ्यकर्मीका टोली परिचालन गरिएको छ ।

राजस्वमा वृद्धि

निकुञ्ज कार्यालयले अघिल्लोभन्दा यस वर्ष १२ प्रतिशत राजश्व वृद्धि भएको जनाएको छ । गत वर्ष रु एक करोड १४ लाख सङ्कलन भएको थियो । यस पटक १४ नाकाबाट चार दिनमै रु एक करोड ९१ लाख ३५ हजार ५०० राजश्व सङ्कलन भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिनुभयो ।

सूचना अधिकारी खड्काका अनुसार निकुञ्जले तीनथरि शुल्क निर्धारण गरेको छ । मध्यवर्ती क्षेत्रका सङ्कलकका लागि रु ५००, जिल्लाभित्रका सङ्कलकका लागि रु दुई हजार र जिल्ला बाहिरका सङ्कलकका लागि रु तीन हजार शुल्क निर्धारण गरिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले प्रत्येक सङ्कलकबाट सेवा शुल्कबापत थप रु ५०० सङ्कलन गर्ने गरेको छ । शुक्रबारदेखि शुरु गरिएको पुर्जी वितरण एक महीनासम्म जारी रहने बताइएको छ । निकुञ्जले गत वर्षभन्दा यस वर्ष २६ प्रतिशतले राजश्व बढ्ने अनुमान गरेको छ ।