प्रदेश 1

प्रदेश नं १ : बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल शुरु

बिराटनगर । विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम २ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव सदनमा पेश गरेका छन् । प्रस्तुत विषयमा प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले ५५ वटा बुँदामा उल्लेखित प्रस्तावलाई निर्माण र रोजगारमुखी बनाउनुपर्ने सुझाव दिए । उनले लक्षित वर्गमा बजेटलाई पु¥याउन कृषि, पर्यटन, औद्योगिक क्षेत्र, विद्यालय र मानव बस्तीसम्म पुग्ने योजना ठोसरुपमा आउनुपर्ने सुझाव दिए ।

प्रदेशसभा सदस्य कुलप्रसाद साम्वाले प्रस्ताव राम्रो भएको र यसको कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने औँल्याए । प्रदेशसभा सदस्य खिनुलाम्वा लिम्बूले बजेट गरीबी उन्मूलनमा केन्द्रित रहनुपर्ने र यसका लागि विशेष र संरक्षित क्षेत्र घोषणा गरेर काम गर्नुपर्ने कुरामा जोड दिए ।

सदस्य झलकबहादुर मगरले प्राथमिकतामा रहेका क्षेत्रलाई परिणाममुखी बनाउन बजेटले बोल्नुपर्ने भन्दै बजेटमा रोजगारी सिर्जना र जनता आवास कार्यक्रम आउनुपर्ने माग गरे । सदस्य नारायणबाबु मगरले बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा एक विशेष कार्यक्रम ल्याउनुपर्ने, सर्पदंशको उपचारको व्यवस्था हुनुपर्ने र भूमिहीन तथा सुकुम्वासीको समस्या समाधान गर्न बजेटले व्यवस्था गर्नुपर्ने माग गरे ।

सदस्य विद्यानन्द चौधरीले चालू आर्थिक वर्षको विकास बजेट २५ प्रतिशत पनि खर्च नभएकाले बजेट हिमाल, पहाड र तराईलाई प्राथमिकतामा राखेर आउनुपर्ने सुझाव दिए । सदस्य विमल कार्कीले बजेटको सिद्धान्त र प्राथमिकता माथि प्रकाश पार्दै संसद् विकास कोषलाई रु पाँच करोड बनाउन माग गरे । सदस्य सञ्जाकुमारी दनुवार, सर्वध्वज साँवा, सावित्राकुमारी रेग्मी र सूयर्माराज राईले छलफलमा आएका रचनात्मक सुझावलाई प्रदेश सरकारले ग्रहण गर्न सके आउने बजेटले राम्रो परिणाम दिने टिप्पनी गरे ।

सोचेअनुसार खर्च भएन

नेपाली काङ्ग्रेसका तर्फका प्रदेश सभासदस्य हिमाल कार्कीले चालू आवमा बजेट सोचेअनुसार खर्च नभएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तहमा अलपत्र रुपमा रहेका योजनालाई कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए । उनले समानुपातिक र निर्वाचित संसद्लाई समानरुपमा संसद् कोषबाट रकम उपलब्ध गराउन आगामी बजेटमा व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

बालिका संरक्षण गर्न माग

सदस्य अम्बिका थापाले उदयपुरको रौतामाई नगरपालिकाअन्तर्गत थापा जडीबुटीमा भएको आगलागीमा करीब रु चार करोडको क्षति भएकाले आवश्यक क्षतिपूर्तिका लागि प्रदेश सरकारसँग माग गरे । सदस्य आशारत्न जगेवुले पाँचथरको आरुबोटे भएको नरसंहारमा ज्यान बचाउन सफल एक बालिकालाई सरकारले संरक्षण दिनुपर्ने, आपराधिक गतिविधि बढ्न स्थानमा अस्थायी प्रहरी चौकी स्थापना हुनुपर्ने माग गरे ।

सदस्य कला घलेले उदयपुरको सिद्धिचरण मार्ग निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । सदस्य गोपालचन्द्र बुढाथोकीले झापा विभिन्न स्थानमा हात्तीको आतङ्कबाट जोगाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने कुरामा जोड दिए । सदस्य प्रकाशप्रताप हाङ्गामले गरीब किसानले सजिलैसँग मल र बीउ पाउनुपर्ने व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सदस्य राजकुमार ओझाले किसानलाई आवश्यक पर्ने मल र खादका लागि कारखाना स्थापना गर्नुपर्ने कुरामा जोड दिनुभयो । सदस्य रामचन्द्र लिम्बूले धनकुटामा एक प्रहरी हवल्दारले आफू बिदा बसेको अवस्थामा पनि आपराधिक गतिविधि गर्नेलाई पक्राउ गरी थप जनधनको क्षति हुनबाट बचाएकाले उनको पदन्नतिका लागि प्रदेश सरकारसँग माग गरे । प्रदेशसभाको अर्को बैठक जेठ १५ गते दिउँसो १ बजे बस्ने उपसभामुख सरस्वती पोखरेलले जानकारी दिए।