समाचार

प्रधानमन्त्रीओली बिहीबार भारत जाँदै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ जाँदै हुन् । आफ्ना समकक्षी मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य र अरु उच्च सरकारी अधिकारी पनि सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कनेछन् । भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बहुमत हासिल गरेपछि नेता मोदी दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका छन् ।