कर्णाली प्रदेश

ठेकेदार कम्पनीले काम गरेबापतको ज्याला नदिएपछि प्रशासनमा उजुरी

सिञ्जा । नाग्म सिञ्जा गमगडी सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरेबापतको ज्याला नदिएको भन्दै स्थानीयवासीले जुम्ला जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । हिमा गाउँपालिका–१ बड्की, देयारगाउँका बासिन्दालाई सडक निर्माणमा कामदारका रुपमा परिचालन गरेर अहिलेसम्म ज्याला दिन आनाकानी गरिरहेको उजुरीमा उल्लेख छ । सडक निर्माणको जिम्मा पाएको थोदुङ निर्माण सेवा कम्पनीका सञ्चालक कार्मा नोर्बेल तामाङले ज्याला दिनेबारे आफूलाई अहिलेसम्म कुनै जानकारी नदिएको स्थानीयवासी नेत्रबहादुर शाहीले बताए।

“मुख्य ठेकेदारले पहिलो चरणमा सहायक ठेकेदारका रुपमा रामराजा महतलाई जिम्मा दिएकामा बीचैमा उनीहरुको सम्बन्ध टुट्यो । फेरि अर्को सहायक ठेकेदार हरिहर काफ्लेले जिम्मेवारी सम्हालेकामा उनीसँग पनि ठेकेदारको सम्बन्ध चिसो भएको थियो”, उनले भने, “मुख्य ठेकेदार तामाङले आफूले उनीहरूलाई काम नलगाएको भन्दै पन्छिन खोजेका छन् भने सयहाक ठेकेदारहरु मुख्य ठेकेदारको जिम्मेवारी भएकाले आफूहरुले तिर्न नसक्ने बताउँदै आएकाले कामदारहरू अन्यौलमा छन् ।” अहिले मुख्य ठेकेदार आफैँ आएर काम गरिरहे पनि कामदारको ज्याला दिन भने मानेका छैनन् ।

सडक निर्माणका क्रममा डोजर, ट्र्याक्टर र टिप्पर चालक तथा सहचालकका साथै निर्माणस्थलमा खटिएका कर्मचारीले खाएको उधारोसमेत तिरिएको छैन । काम गरेको एक वर्ष नाघिसक्यो, ज्याला दिन आलटाल गरिरहेका छन् । निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेकाले यसबारे छानबिन गरी ज्याला असुुल गराउनका लागि स्थानीय प्रशासनमा उजुरी दिन बाध्य भएको पीडित रमेशबहादुर शाहीले बताए । आफूहरूको उजुरीउपर सुनुवाइ नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं निर्माण कम्पनीले लिनुपर्ने चेतावनी सरोकारवालाले दिएका छन् ।

ठेकेदार कम्पनीबाट बाबुराम आचार्यले रु तीन लाख, मणिराम रावतले दुई लाख, चन्द्रबहादुर बुढाले २५ हजार, नन्दलाल आचार्यले ७५ हजार, अलिबहादुर शाहीले आठ लाख ६० हजार, दुर्गाबहादर शाहीले एक लाख ३० हजार, भावना बम शाहीले ३६ हजार, वीरबहादुर शाहीले एक लाख ४४ हजार, लक्ष्मीकान्त अधिकारीले ७५ हजार, देवीकृष्ण अधिकारीले १२ हजार, गोपालबहादुर शाहीले ५० हजार र मानसिंह सार्कीले एक लाख ४४ हजार लिनुपर्ने देखिन्छ ।

सडक निर्माणका क्रममा प्रयोग हुने निर्माण सामग्री गुणस्तरीय नभएको स्थानीयवासी रमेशबहादुर शाहीले बताए । “सडकमा नाली बनाउने काम भएको छैन, आठ मिटर हुनुपर्ने सडकको चौडाइ तीन मिटरमा सीमित छ, सडकखण्डमा हाल्नुपर्ने ग्याबिन तोकिएबमोजिम राखिएको छैन”, उनले भने, “गुणस्तर जाँचियोस् र कामदारको रकम असुलउपर होस् ।” प्रजिअ दुर्गा बञ्जाडेले कामदारको रकम दिलाउन आफू सचेत रहेको बताए ।