प्रदेश 1

गणतन्त्रसँग अझै धेरै अपेक्षा, नाराले मात्र गणतन्त्र आएको महसुस गर्न सकिँदैन

भद्रपुर । मुलुकमा गणतन्त्र आएको डेढ दशक पुग्न लागेको छ । जनताको ठूलो सङ्घर्ष र बलिदानको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने क्रममा छ । संविधानसभाबाट नयाँ संविधान जारी हुनु, सङ्घीय राज्य व्यवस्था बन्नु र सरकारको तीनै तहको निर्वाचन सम्पन्न भएर ४० प्रतिशत महिला स्थानीय तहमा नै निर्वाचित हुनु गणतन्त्रको उपलब्धि हुन् ।

अढाई सय वर्षदेखिको राजतन्त्रलाई अवशेष नै नरहने गरी फालेर जनतामा सार्वभौमसत्ता स्थापित भएको हुँदा गणतन्त्रमा जनताको सर्वोच्चता कायम भएको छ । तैपनि गणतन्त्रप्रति नागरिकका अपेक्षा धेरै भएको हुँदा ती पूरा हुन अझै बाँकी छन् । सञ्जीवनी महिला विकास समूह झापाकी अध्यक्ष रेणुका डाँगीले गणतन्त्रमा नागरिक खुशी र सुखी हुँदै गएको बताईन् ।

उनले झुपडीका नागरिकले पनि परिवर्तनको अनुभूति हुने काम सरकारले अझै गर्न बाँकी रहेको बताईन् “नाराले मात्र गणतन्त्र आएको महसुस गर्न सकिँदैन”, उनीले भन्छिन्, “समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन महिला हिंसा शून्यमा ल्याउनुपर्छ, महिलाले समान अधिकारको उपभोग गर्न सहयोग पु¥याउने कानूनहरुको कार्यान्वयन गर्नुपर्छ ।”

आदिवासी जनजाति महिला महासङ्घ झापाकी अध्यक्ष माया गुरुङले गणतन्त्र आएपछि महिलामाथिको विभेदकारी कानून संविधान र कानूनका किताबमा हटे पनि व्यवहारमा अझै कायम रहेको गुनासो गरिन् । ग्रामीण क्षेत्रका बासिन्दाले सम्मानित र आत्मनिर्भर अनुभूति गर्न नपाएको उनले बताईन् । सरकारले पछाडि परेका विभिन्न उत्पीडित समुदाय र विपन्न वर्गको आयस्तर बढ्ने खालका जनमुखी कार्यक्रम लिएर ग्रामीण क्षेत्रमा जानुपर्ने धारणा उनले व्यक्त गरिन्।

कमल गाउँपालिकी अध्यक्ष मेनुका काफ्लेले जनताले ठूलो सङ्घर्षपछि ल्याएको गणतन्त्र फल्ने फुल्ने क्रममा रहेको बताईन्। उनले गाउँमै बसेर सरकार चलाउन पाउनु पनि गणतन्त्रकै उपलब्धि भएको उल्लेख गर्दै “गणतन्त्रकै कारण आज महिलाहरु हामी यो ठाउँमा छौँ”, उनले भनिन् । उनीले गणतन्त्रकै कारण महिलाहरुको स्थानीय तहदेखि केन्द्रीय तहसम्म पहुँच पुगेको बताउँदै गणतन्त्रको सुन्दर पक्ष योभन्दा के हुन सक्छ, बजेट, योजना बनाउनेदेखि ऐन कानून बनाउने र कार्यान्वयनसम्म सबै काम स्थानीय तहमै महिलाले गरिरहेका छन् भनिन्।

नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन भयो भने मजदूरका लागि गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि हुने बताईन् । मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन भए पनि मजदूरको जीवन परिवर्तन हुन नसकेको बताउँदै उनीले गणतन्त्र मालिकले मात्र होइन, मजदूरले पनि उपभोग गर्न पाउनुपर्छ भनिन्।

गणतन्त्र प्राप्तिपछि गाउँगाउँमा सडक पुगेको, शिक्षा र स्वास्थ्य क्षेत्रमा ग्रामीण क्षेत्रका बासिन्दाको पहुँच पुगे पनि ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा बिस्तारै परिवर्तन आउन थालेको ज्येष्ठ नागरिक सङ्घ झापाका सदस्य कृष्णप्रसाद उप्रेतीलदे बताए । “आगामी बजेटमा भत्ता बढाइदियोस्”, उनले भने, “बैंकबाट पैसा दिने हुँदा अधिकांश वृद्धावृद्धा लाइनमा बस्न नसकेर भत्ता बुझ्न आउँदैनन्, उनीहरुलाई स्थानीय सरकारले घरघरमा भत्ता पुर्‍याइदियोस् । अनि मात्र ज्येष्ठ नागरिकले गणतन्त्र आएको महसुस गर्नेछन् ।”

उनले गणतन्त्रको उपलब्धि भनेको स्वास्थ्य बीमा कार्यक्रममार्फत सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत गरिने एक लाखसम्मको निःशुल्क बीमा रहेको बताए। मेचीनगर–१५ स्थित डिगेन आधारभूत विद्यालयकी प्रधानाध्यापक कृष्णकुमारी बानियाँले गणतन्त्रपछि सामुदायिक विद्यालयहरुमा उल्लेख्य सुधार भएको बताईन् । तल्लो तह र ग्रामीण क्षेत्रका बासिन्दासम्म शिक्षाको पहुँच पुगेको उल्लेख गर्दै उनले भनिन्, “मुलुकमा तीनै तहमा स्थिर सरकार छ तर नीति, कार्यक्रम र कार्यशैलीमा गणतन्त्रको अनुभूति झल्कनुपर्छ ।”