पत्रपत्रिका

भूकम्पलगत्तै बन्द भएको तातोपानी नाका खुल्यो

सिन्धुपाल्चोक । भूकम्पलगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चारवर्षपछि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाए पछि अनौपचारिक रुपमा नाका खुलेको हो ।

नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको हो सोमबार दश जना लोडर र कन्टेनरलाई पास दिइए पनि चीन पक्षबाट बल्ल सहमतिको खबर पाइएपछि काम थालिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर गएका हुन्। सोमबार बेलुकी नै ४ वटा कन्टेनर ‘पास सिस्टम’सकेर तयारी हालतमा थिए। बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्‍याइनेछ।

तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर कामलाई थालनी गरिएको सीमाका जनप्रतिनिधिले बताएका छन्। नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ। त्यसैको लागि यहाँको संरचना रंगरोगन गरेर चिटिक्क पारिएको छ।

तातोपानी, कोदारी देखि लिपिङ जोड्ने पुलको भैसीकुना पाटीसम्म दर्जनभन्दा साना होटेल व्यवसायी बढी नाका खुल्ने आशमा चार महिनाअघिबाट भाडा लिएर बसिरहेका थिए। पर्यटन व्यवसायी रामकाजी पौडेलकानुसार सीमामा करोडौ लगानीमा खुलेका होटेल नाका नचल्दा डुब्ने अवस्थामा पुगेका थिए। भूकम्पअघि तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी एक हजार पाँचसयभन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्थे।

नाकाबाट बर्सेनी १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे। वर्षेनी २० अर्बको आयात र ३ अर्बको निर्यात हुने नाकामा बल्ल चहलपहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए। ‘भूकम्प आएपछि नाका बन्द बनायो, यही नाका खुलाउन बारम्बार स्थानीय व्यवसायी आन्दोलित भए, पछि अस्थायी रुपमा नाका चल्यो,’ उनले भने। भूकम्पको वर्षदिनमा गोदाममा थन्केका व्यापारिक सामान ल्याउन २७ वटा कन्टेनर चीनको खासा पुगेको उनले स्मरण गरे। भोटेकोसी बाढीले एकै पटक थलिएको तातोपानी नाकामा चलहपहल बढेको छ। तातोपानी, कोदारी लिपिङ तीनैवटा बजारका पुराना व्यवासायी फर्कन थालेका छन्। चीनको खासा क्षेत्रमा नेपालतर्फजस्तै चिनियाँ व्यापारीको चलहपहल उस्तै बढेको छ। कान्तिपुर