लुम्बिनी

न्यायका क्षेत्रमा काम गर्नेहरु कानूनको विषयमा स्पष्ट हुन जरुरी छ

रुपन्देही । लैङ्गिक तथा बाल न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा सोमबारदेखि शुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालय काठमाडौँको आयोजनामा शुरु भएको प्रशिक्षणमा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अनुसन्धान अधिकृत, सरकारी वकिल र कर्मचारीको सहभागिता रहेको छ ।

प्रशिक्षणको उद्घाटन कार्यक्रममा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश रमेश खत्रीले कानून अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले बुझ्नुपर्ने बताए। न्यायका क्षेत्रमा काम गर्नेहरु कानूनको विषयमा स्पष्ट हुन जरुरी रहेको उनको भनाइ थियो । नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले गलत सिकाइ र बुझाइले समाजमा द्वन्द्व सिर्जना हुने भएकाले बुझाइमा स्पष्टता हुनुपर्ने बताए।

आजसम्म चल्ने प्रशिक्षणमा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश बामदेव ज्ञवाली, नायब महान्यायाधिवक्ता पाण्डेय, सहन्यायाधिवक्ताद्वय उद्धवप्रसाद पुडासैनी र रामकुमार थापाले लैङ्गिक तथा बाल न्यायसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत रोशी भण्डारीले जानकारी दिए।