बाग्मती

सौराहामा गैँडाको झझल्को दिने सभाहल निर्माण गरिँदै

चितवन । पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा रु ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका अनुसार सभाहलको बोलपत्र आह्वान भइसकेको छ । पछिल्लो प्रविधि अपनाएर बनाउन लागिएको सो सभाहल दुई हजार १०० वर्गमिटरको हुने भुसालले बताए । सभाहलमा एक हजार सहजै बस्न सक्नेछन् । यसका अतिरिक्त १५० क्षमताको बैठककक्ष, आकर्षक स्टेज, पूर्वतयारी कक्ष, शौचालय, कार्यक्रममा नाम दर्ता गर्ने ठाउँ, भवनभित्र खुला क्षेत्र रहनेछन् ।

भुसालले भवनको अगाडिको भाग गैँडाको टाउकोजस्तो देखिने गरी नक्साङ्कन गरिएको जानकारी दिए । दुई वर्षभित्रमा सभाहल निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले राष्ट्रिय र अन्तर्राष्ट्रिय ठूला कार्यक्रम गर्न सभाहल उपयोगी हुने बताए। मानिस बस्नका लागि होटल भएकाले सभाहल बनेसँगै धेरैको कार्यक्रम गर्ने चाहना सौराहा बन्ने उनको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहामा हाल ११० होटल रहेका छन् । जहाँ दुई हजार ७५० जना बस्न सक्ने क्षमता रहेको छ । सभाहलको अभावमा सौराहामा ठूला कार्यक्रम कम आउने र पालको भरमा कार्यक्रम गर्नुपर्ने बाध्यता यसले अन्त्य गर्ने घिमिरेले बताए।