अन्तर्राष्ट्रिय

अब सङ्कटकाल लम्बिदैन कानूनलाई खुकुलो बनाउँदै छौँ: राष्ट्रपति सिरिसेना

कोलम्बो । श्रीलङ्कामा एक महिनाभित्र कडा सङ्कटकालीन कानूनलाई विस्तारै खुकुलो पार्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार बताएका छन् । राष्ट्रपति सिरिसेनाले इस्टर वम आक्रमणपछिका हालसम्म आइपुग्दा देशको सुरक्षा अवस्था ‘९९ प्रतिशत सामान्य अवस्थामा पुगेको’ बताउँदै अव सङ्कटकालीन कडा कानूनको औचित्य समाप्त भएको बताए।

मैत्रीपाला सिरिसेनाले कोलम्बोस्थित अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका र यूरोपेली मुलुकहरूका कूटनीतिज्ञहरूसँग कुरा गर्दै उनले भने,“श्रीलङ्काको सुरक्षाकर्मीले गत अप्रिल २१ गते इस्टर पर्वका समय गरिएको आक्रमणमा सहभागी तथा जिम्मेवार सबैलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाउन सफल भएको बताए।

राष्ट्रपति सिरिसेनाले गत महिनाको वम आक्रमण, जसमा २५८ जनाको मृत्यु र ५०० घाइते भएका थिए, का दोषीलाई पक्राउ गर्न र दोषीलाई जेल चलान गर्नका लागि सम्पूर्ण शक्ति सेनामा निहित गरेको थियो । तीन छुट्टाछुट्टै गिर्जाघर र सुविधासम्पन्न होटेलमा एकै दिनमा गरेको आक्रमणमा स्थानीय जिहादी समूह नेशनल तोहित जमात (एनटीजे) लाई दोषी ठहर गर्दै आक्रमण पछि उक्त समूहलाई प्रतिबन्ध लगाइएको छ ।

“सङ्कटकाल तत्कालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै घोषणा गरिएको थियो,” राष्ट्रपतिको कार्यालयले सिरिसेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ । “तर, थप समय सङ्कटकाल लम्ब्याउनुपर्ने अवस्था नरहेको देखिएको छ ।” श्रीलङ्काको कानून अनुसार एक पटकमा बढीमा एक महिनाका लागि सङ्कटकाल घोषणा गर्न सकिन्छ । राष्ट्रपतिले सङ्कटकालको अवधिलाई गत मे २२ मा पुनः एक महिनाका लागि भन्दै थप गरिसकेका छन्।

सिरिसेना, जसले रक्षा, कानून मन्त्रालयको कार्यभार आफैमा निहित राखेका छन्, ले सुरक्षा बललाई पुनः संरचना गरिएको र अव मुलुकमा आतङ्कवादी आक्रमणको सम्भावना नरहेको दावी उक्त अवसरमा गरे। सिरिसेनाले दोहोराए, “आक्रमणमा सम्लग्न रहेको भेटिएका दोषीहरू कि त मारिएका कि पक्राउ परिसकेका छन् ।”

प्रहरीका अनुसार घटनामा सम्लग्न रहेका १० महिलासहित १०० जनाभन्दा बढी जेल चलान भइसकेका छन् । सुरक्षाकर्मीले अरोपित थप १०० जनालाई गत बिहीबारदेखि शुरूभएको चारदिने ‘कर्डन–एण्ड–सर्च’ सुरक्षा अपरेसनमा पक्राउ गरिएको बताएको छ ।