समाचार

कानूनी अस्पष्टताका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास सकेन

काठमाडौँ । कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च ‘फोडेज’ नेपालले सोमबार यहाँ आयोजना गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त विचार राखेका हुन।

गाउँपालिकालाई सिंहदरबारसँग तुलना गरेर नहुने भन्दै अध्यक्ष श्रेष्ठले स्थानीय सरकारले काम गरेनन् भन्नुभन्दा थोरै जनशक्ति, भौतिक पूर्वाधारको अभाव र समस्याका बीच पनि काम भइरहेको बताए। महासङ्घका कोषाध्यक्ष वंशलाल तामाङले पनि गाउँपालिकाले काम गर्न नसकेको नभई परिणाम देखिन बाँकी रहेको भन्दै एउटा गाउँपालिका वा त्यहाँको कर्मचारी/जनप्रतिनिधिले गरेको बिगारमा ७५३ स्थानीय सरकारलाई मुछ्न नहुने बताए।

पूर्वसचिव खेमराज नेपालले गाउँपालिकाले मानवस्रोतलाई विकासमा खर्चिनुपर्ने धारणा राखे। महासङ्घका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलले विगतको खाडल पुर्नुपर्ने भएकाले अपेक्षाअनुरुप उपलब्धि हुननसकेको र तालिकाअनुरुप आगामी दिनमा विकासको कामले गति लिने बताए। फोडेजका अध्यक्ष गोपीकृष्ण ढुङ्गाना र सचिव चन्द्रमणि भट्टराईले प्रत्येक गाउँपालिकाले समग्र विकासका अतिरिक्त एउटा विशेष कार्यक्रम ल्याउनुपर्ने र त्यसैबाट गाउँपालिका चिनिनुपर्नेमा जोड दिएका थिए ।