प्रदेश 1

नेपाल भारतको दशगजा क्षेत्रमा सीमास्तम्भ निर्माण

विराटनगर । नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ । झापा, मोरङ र सुनसरीमा गएको चार वर्षदेखि शुरु भएको स्तम्भ निर्माण अनुसार झापामा ९८८ वटामा १४०, मोरङमा १२२ वटामा १० र सुनसरीमा २८८ वटामा २४ स्तम्भ निर्माण हुन बाँकी रहेको नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए ।

भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापा र बिहारसँगमात्र जोडिएको मोरङ र सुनसरीका सीमामा लामो समयदेखि बिग्रेका, भत्केका, खियालागेका, नदीले बगाएका स्तम्भ निर्माण हुनसकेका थिएनन् । निर्माण हुन बाँकी स्तम्भ नदीमा परेका, पानीको क्षेत्र र पोखरीजस्तो देखिने क्षेत्रमा मात्र स्तम्भ निर्माण नभएको प्रमुख लम्सालले बताए। नेपाल पक्षका नापी विभाग, स्थानीय प्रशासन र भारततर्फका नापी विभाग र स्थानीय प्रशासनको सहमति तथा सहकार्यबाट निर्माण भइरहेको स्तम्भ नेपाल पक्षले बिजोड र भारत पक्षले जोड सङ्केतका स्तम्भ निर्माण गरेका हुन् ।

स्तम्भ निर्माणका क्रममा कुनै पनि विवाद नभएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । उनले सीमा क्षेत्रमा कुनै पनि विवाद उत्पन्न हुन नदिन दुबै देशका प्रतिनिधिले चार/चार महीनामा बैठक बस्ने गरेको, सीमा क्षेत्रमा अनुगमन एवं निरीक्षण गरिएको जानकारी दिँदै केही समय पहिले विराटनगरको रानी–जोगबनी क्षेत्रमा दशगजामा निर्माण गरिएको लगभग ४५ टहरा हटाइएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी केसीले दशगजा क्षेत्रमा कुनै समस्या नदेखिए पनि सो क्षेत्रमा मन्दिर निर्माण गरिदिने, खेत जोत्ने क्रममा दशगजालाई जोतखन गरिदिने समस्या देखिए पनि दुबै देशको टोलीबाट निरीक्षण गरी समस्या समाधान गर्दै आइरहेको स्पष्ट पारे । प्रमुख जिल्ला अधिकारी केसीले केही दिनपहिले मोरङको जहदा गाउँपालिकासँग जोडिएको कालावञ्जर ठाउँमा संसद् विकास कोषको रकमबाट बाटो निर्माण गर्दा उत्पन्न भएको विवादलाई समाधान गर्दै आएको जानकारी दिए।