प्रदेश 2

वडाध्यक्ष नै हुन्छन् कुटपिट र लुटपाटमा संलग्न

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको दुई लाख लुटेको आरोप लगाइएको हो ।

जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी चौधरी र शशिकान्त चौधरीबीच आपसी झै–झगडा र गालीगलौज हुँदा शशिकान्त चौधरीले वडाध्यक्षलाई फोन गरेर बोलाएपछि वडाध्यक्ष र उनीसँगै आएका आठ÷१० जनाको समूहले वासुकी चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर गम्भीर घाइते बनाएको निजकी आमा महामायादेवीले आरोप लगाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

वडाध्यक्ष राउतका साथै उनीसँगै आएका सुशील राउत, दिलीप राउत, राजु शर्मा, उदय रायसहित आठ÷१० जनाको समूहले वासुकी चौधरीलाई विवाद समाधानका लागि वडा कार्यालयमा जान भनेको तर उनले आफू पहिला प्रहरीमा जाहेरी दिने र त्यसपछि मात्रै वडामा जाने भनेपछि वडाध्यक्ष राउतसहित पूरै समूहले उनलाई भुइँमा लछारपछार गर्दै मरनासन्न गरी कुटपिट गरेको प्रहरीले उनकी आमालाई उद्धृत गर्दै जनाएको छ ।

वडाध्यक्षसँगै हातमा लगाउने फलामको फाइबर हतियारसहित आएका उनका साथीले वासुकी चौधरीको अनुहार, टाउकोमा कुटपिट गरेपछि उनी लडेका थिए भने लडेपछि पनि बुटले उनको छाती र शरीरभरि कुटपिट गरी उनलाई गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । साथै उनीसँगै आएका उदय रायले इँटा उठाएर ज्यानै मार्ने प्रयाससमेत गरेको उनीहरुले बताएका छन् । अनुहार, टाउको, छाती र शरीरको अन्य भागमा चोट लागेर गम्भीर घाइते भएका वासुकीलाई जिल्ला अस्पताल जलेश्वरमा सामान्य उपचार पश्चात थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

वासुकी चौधरीलाई एक्कासि वडाध्यक्ष र उनका साथी आएर मरणासन्न हुनेगरी कुटपिट गरिरहेको देखेर स्थानीयवासीले उनीहरुलाई घेरा हाली समातेका थिए र सबैलाई नियन्त्रणमा लिएर उदय चौधरीलाई एउटा रुखमा बाँधेर राखेका थिए । नियन्त्रणमा लिइएका वडाध्यक्ष तथा उनका साथीलाई प्रहरीचौकी पर्सापतैलीका प्रहरी सहायक निरीक्षक श्याम सिंहले घटनास्थलबाट भगाएको स्थानीवासीले आरोप लगाएका छन् । तर प्रहरीले वासुकीलाई इँटाले हिर्काउन लागेका उदय रायलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

यसै घटनाबारे जलेश्वरनाथ एफएममा कार्यरत पत्रकार नवीन चौधरीले महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई सो गाउँमा ठूलो दुर्घटना हुन लागेकाले प्रहरी पठाई अवस्था सामान्य गराइदिनुस् भनी जानकारी गराउँदा वडाध्यक्ष राउत र उनका साथीले पत्रकार चौधरीलाई ज्यान मार्ने धम्कीसमेत दिएको स्थानीयवासी गोपाल कापर र रासोदेवीले बताए ।

प्रहरी सहायक निरीक्षक सिंहले घटनास्थलबाट वडाध्यक्ष राउत र उनका साथीलाई उम्काइदिएपछि वडा कार्यालयतिर आउँदै गरेका उनीहरुले विपरीत दिशाबाट जाँदै गरेका मटिहानी नपा–९ स्थित बहुअर्बा चोकमा शिव टे«डर्स सञ्चालन गर्दै आएका जलेश्वर–५ बस्ने सीतानन्दन राय र उनका साथी राम एकवाल कापरलाई पर्सा मावि नजिकै रोकेर दुवै जनालाई कुटपिट गर्दै घाइते बनाएर रायको साथमा रहेको रु दुई लाखसमेत लुटेको उनका बुबा राघवेन्द्र रायले जिल्ला प्रहरी कार्यालयमा आएर प्रहरी नायब उपरीक्षक समक्ष जानकारी दिएका छन् ।

कुटपिट गरी घाइते बनाइएका राय पनि उपचारका लागि अस्पताल पुगेका छन् भने उनका साथी राम एकवाल कापर ज्यान जोगाएर गाउँतिरै भागेको स्थानीय नेता धमेन्द्र रायले बताए । सोही घटनाका क्रममा शशिकान्त चौधरी, जगदीश कापर लगायतका व्यक्ति पनि सामान्य चोटपटक लागेर उपचारका लागि जलेश्वर अस्पताल पुगेका छन् । अहिले जलेश्वर नगरपालिका–५ को अवस्था तनावग्रस्त छ भने त्यहाँ व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । यता वडाध्यक्ष र उनका साथी अहिले घटनास्थल तथा गाउँमा नरहेको प्रहरीले जनाएको छ ।