अन्तर्राष्ट्रिय

कारागारमा झडप, १५ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समयानुसार बिहान ११ बजेट झडप शुरु भएको थियो ।

कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयलाई चक्कुको प्रयोग गरेको जानकारी दिए। उनले उक्त घटनाको अनुसन्धान शुरु भइसकको पनि बताए। यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो ।

ब्राजिलमा विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रुपमा रहेका छन् । सरकारी तथ्याँक अनुसार ब्राजिलमा सन् २०१६ को जुन महिनामा सात लाख २६ हजार ७१२ जना कैदीबन्दी छन् । तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् ।

सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो । निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ ९समूह० भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दङ्गा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् । अमेजोन जङ्गल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।