राजनीति

म प्रधानमन्त्री भएको बेला काँग्रेस र एमालेले काम गर्न दिएनन्ः अध्यक्ष डा भट्टराई

समाजवादी पार्टी नेपाल, सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संविधानलाई पूर्णता दिन राज्यको पुनःसंरचना अपरिहार्य भएको बताएका छन् ।

समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधानलाई पूर्णता दिन संशोधन गरी सबैको अस्तित्वलाई स्वीकार र समानताको प्रत्याभूति हुनु जरूरी छ भने । समृद्ध नेपालको सपनालाई साकार तुल्याउन वर्गीय, जातीय, लैङ्गिक विभेद, उत्पीडनको अन्त्य जरूरी रहेको उनको भनाइ थियो । उनले आफू प्रधानमन्त्री बेला काँग्रेस र एमालेले सङ्घीय संरचना आयोगले सिफारिस गरेको सङ्घीय संरचना कार्यान्वयन हुन नदिएको आरोप लगाए ।

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सरकारले सङ्घीयतालाई कमजोर र प्रदेशलाई अधिकारविहीन बनाउन खोजेको आरोप लगाए ।

भाषा, संस्कृति, सभ्यतामाथि प्रहार गरी समावेशितालाई खारेज गर्ने षडयन्त्र भइरहेको उनको भनाइ थियो । सरकार सङ्घीय गणतन्त्र विपरीत क्रियाकलाप सञ्चालन गरी पहिचानलाई गौण पार्ने खेलमा लागि परेको समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले बताए ।