समाचार

तीन ठाउमा बिष्फोट, चार जनाको ज्यान गयो, विप्लवको संलग्नता रहेको प्रहरीको यस्तो छ दाबी

काठमाण्डौ । चार जनाको ज्यान जाने गरी आज अपराह्न भएको विस्फोटमा विप्लव नेतृत्वको समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे । सो घटनामा तीनको मृत्यु र छ जना घाइते भएका छन् ।

नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर पड्किएको नपाइएको बताएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, “दुवै ठाउँमा ग्यास सिलिण्डर पड्किएको पाइएको छैन, घट्टेकुलोमा त पक्का भइसक्यो, यताको पनि अनुसन्धानमा टोली खटाएका छौँ, टोलीले अनुसन्धान गरिरहेको छ ।”

अपराह्न करीब ४ बजे भएको विस्फोटनमा परी तीन जनाको मृत्यु भएको हो । घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा एक र सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको हो । सुकेधारास्थित एक जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा ओम अस्पतालमा निधन भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । उनीहरुको पहिचान खुलेको छैन । अहिलेसम्म घाइते भएका छमध्ये चार जनाको परिचय खुलेको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रबिन केसी रहेका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । दुई घाइतेको परिचय खुलेको छैन ।

विप्लवलाई हिंसा र ओली सरकारलाई दम्भ त्यागी शान्तीमार्गमा लाग्न काङ्ग्रेसले सल्लाह

प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार घट्टेकुलो बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठमा भएको सामानमा समेत क्षति पुगेको छ । घटनास्थलमा विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ । प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिए । दुवै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन् ।

अनामनगर र सुकेधारामा बम विस्फोटमा परी तीनको मृत्यु, एक गम्भीर घाईते