राजनीति

बिपीको नाम जपेर मात्रै हुँदैन, सबै जागरुक भई गुटको राजनीति छोडौँः वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दीको अन्त्य हुनुपर्ने बताएका छन् । काङ्ग्रेसको राष्ट्रिय जनजागरण अभियानका लागि यहाँ आइपुगेका वरिष्ठ नेता पौडेलले आज पाटनमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एक भएको सन्देश जागरण अभियानले दिइसकेको र जागरण अभियानपछि पार्टीमा कुनै गुटबन्दी नदेखिने बताए ।

काङ्ग्रेस बिपी कोइरालाको सिद्धान्तअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । नेता पौडेलले बिपीको सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्ने बताए । उनले भने, “बिपीको नाम जपेर मात्रै हुँदैन, सबै जागरुक हुनु जरुरी छ ।” जागरण अभियानले काङ्ग्रेसलाई बलियो बनाउने नेता पौडेलले उल्लेख गरे । अभियानले कार्यकर्ता अनुशासित र मर्यादित हुने पौडेलले विश्वास व्यक्त गरे ।

सञ्चारमाध्यमले सरकारका गतिविधि बाहिर ल्याइराखेकाले सरकार मिडिया काउन्सिल विधेयक पास गर्न लागि परेको नेता पौडेलको आरोप थियो । उनले भने, “काङ्ग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न दिँदैन ।”