राजनीति

सञ्चारसम्बन्धी विधेयक विवादित कुरा पत्रकारहरुले भने बमोजिम सच्चिन्छः नेता गौतम

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले सञ्चारसम्बन्धी विधेयक सच्चाउनुपर्ने बताएका छन् ।

नेकपा जिल्ला कमिटी बर्दियाद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा भएका विवादित कुरा पत्रकारहरुले भने बमोजिम सच्चिनेमा आफू आशावादी रहेको बताए ।

उनले सरकारको काम कारवाही ठिकै ढङ्गले अगाडि बढिरहेका प्रस्ट पारे । यस पटक पहिले रहेका कमीकमजोरी हटाउने गरी बजेट आउन लागेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेट साच्चिकै जनताको आवश्यकता पूरा गर्ने गरी समाजवाद उन्मुख आउने बताए।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता गौतमले बर्दियाको विकासमा कटिबद्ध भएर लागेको उल्लेख गरे । पत्रकार सम्मेलन अघि उनी समक्ष बबई सिँचाइ आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठ, बबई भादा औरही नदी व्यवस्थापन आयोजनाका प्रमुख जीतबहादुर थापालगायतले आयोजनाको प्रगति तथा चुनौतीका बारेमा जानकारी गराएका थिए ।

उनले आजै बबई सिँचाइ योजनाअन्र्तगत मधुवन नगरमा निर्माणधीन नहर र बबई भादा औरही नदी व्यवस्थापन आयोजनाअन्तर्गत पण्डितपुरमा सञ्चालित बबई नदी तटबन्धनको स्थलगत निरीक्षण गरेका थिए ।