आर्थिक

एन आई सी एशिया बैंककोे थप शाखारहित बैंकिङ सेवा

काठमाण्डौ । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोहि क्रममा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा यही जेष्ठ १० गतेबाट संचालनमा ल्याइएको छ । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको समुद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेश कुमार यादवलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवाको महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहकहरुका साथ संचालनमा रहेको यस बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुल निक्षेप करिब रू. १६९ अर्ब र कुल कर्जा करिब रू. १४४ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा÷शाखारहित बैंकिङ सेवा संचालन गर्ने योजना अगाडि सारेको छ ।