खेलकुद

आर्मीले प्रदेश १ लाई २०५ रनको चुनौती

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रनको योगफल बनायो ।

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेको उनले चार चौकाको मद्दतमा ५६ रन बनाएका हुन् । त्यसैगरी हरिबहादुर चौहानले ४१, कप्तान विनोद भण्डारीले ३० र करण केसीले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ प्रदेश नं १ का दिपेश कँडेलले ३ विकेट लिए भने मुकुन्द यादव, सिद्धान्त लोहोनी र फिरदोस अन्सरीले समान दुई दुई तथा पुष्प थापाले १ विकेट झारे ।

यसअघि भएको आफ्नो पहिलो खेलमा आर्मीले प्रदेश नं २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।