समाचार

प्राकृतिक विपत्बाट एक वर्षमा २६ को मृत्यु

घोराही । प्राकृतिक विपत्मा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपत्मा परी उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक खिलानाथ दाहालले जानकारी दिए ।

उहाँका अनुसार गत वर्ष सर्पदंशका कारण तीन महिला र तीन पुरुष गरी छ जनाको मृत्यु भएको थियो । त्यस्तै करेन्ट लागेर पाँच, माटोको ढिस्कोले पुरिएर पाँच, आगलागीका कारण चार, पानीमा डुबेर दुई र चट्याङमा परी दुई जनाको मृत्यु भएका थिए । सो अवधिमा विपत्मा परी ६ जना घाइते भएका थिए ।

विपत्का कारण गत वर्ष जिल्लामा २१५ घरपरिवार विस्थापित भएको थियो । जसमा सबैभन्दा धेरै हावाहुरीका कारण ६५ घरपरिवार, आगलागीका कारण ९१, भारी वर्षात्का कारण ५८ र चट्याङका कारण एक परिवार विस्थापित हुनुपरेको केन्द्रका संयोजक खिलानाथ ढकालले जानकारी दिए।

गत वर्ष विपत्का कारण जिल्लामा रु १२ करोड ७५ लाख एक हजार ५५० मूल्य बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । तीमध्ये अहिलेसम्म रु १२ लाख ५१ हजार जिल्ला प्रशासन कार्यालयमाफर्त पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको केन्द्रका संयोजक दाहालले जानकारी दिए ।

उनका अनुसार प्राकृतिक विपत् हावाहुरी, आगलागी, चट्याङ, वर्षात र पहिरोका कारण धेरै घर, गोठलगायत सरकारी संरचनामा समेत असर पु¥याएको छ । गत वर्ष जिल्लामा हावाहुरीका ६५, आगलागीका १०२, भारी वर्षात्का ६०, करेन्टसम्बन्धी ११, पानीमा डुबेका ११, चट्याङसम्बन्धी आठ, सर्पदंश डसेका सात र बाढीका तीन गरी कूल २८० विपत्का घटना भएको केन्द्रले जनाएको छ ।