लुम्बिनी

सिकलसेल एनिमियाको औषधि अभाव

लमही । दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५÷६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताए । “५÷६ महीना भयो, हामीले औषधि पाएका छैनौँ”, उनले भने, “अहिले दाङमा औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता रहेको छ ।”

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमियाका बिरामीलाई रु एक लाख बराबरको निःशुल्क औषधि वितरण गर्ने भनी सरकारले तोकेको छ । तर लामो समयदेखि औषधि नपाउँदा अहिले धेरै बिरामीले औषधि नखाएरै दिन कटाइरहेका छन् । औषधि दैनिक खानुपर्ने भए पनि औषधि नपाएपछि एक महीनादेखि औषधि नखाएर दिन कटाएको सिकलसेल एनिमियापीडित तुलसीपुर–११ मोतीपुर निवासी रुपा चौधरीले बताए । “एक महीना भयो, औषधि नपाएको”, उनले भने, “अहिले औषधि नखाएरै दिन कटाइरहेकी छु ।”

औषधि नखाँदा हातखुट्टाका जोर्नी दुख्ने, शरीर दुख्ने हुँदा कुनै पनि काम गर्न नसकिने उनको भनाइ थियो । अहिले आफूले ‘फोलिकएसिड’ नियमित खाइरहेको भए पनि ‘हाइड्रिया’ औषधि खान नपाएको बताए । अहिले दाङ र नेपालगञ्जमा औषधि नपाइने भएपछि भारतको रुपैडिहाबाट औषधि ल्याएर खाने गरेको सिकलसेलपीडित तुलसीपुर–११ निवासी शरद चौधरीले बताए । “औषधिकै लागि दाङ र नेपालगञ्ज गएँ”, उहाँ छु ।” दाङमा ‘फोलिकएसिड’ भए पनि ‘हाइड्रिया’ नामक औषधि अभाव रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चित्रकला अधिकारीले बताए । “सिकलसेल एनिमिया रोगीले दुई औषधि खानुपर्छ”, उनले भने, “अहिले फोलिकएसिड नामक छ, तर हाइड्रिया नामक औषधि छैन ।”

अहिलेसम्म दाङमा १३५ जनाले नियमित औषधि लिइरहेको भए पनि औषधि अभावमा ती बिरामी प्रभावित भएको उहाँको भनाइ छ । प्रतिष्ठानमा नेपालगञ्जबाट सिकलसेल एनिमियाको औषधि आउने भए पनि पछिल्लो समय औषधि नेपालगञ्जमा नै अभाव भएपछि दाङले पनि अभाव खेप्नुपरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।

दाङमा नियमित १३५ ले सिकलसेल एनिमियाको औषधि खाइरहेको भए पनि रोगीको यकिन पहिचान हुन नसकेको थारू स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जीवराज चौधरीले बताए । “सबै थारू समुदायका व्यक्तिले सिकलसेल एनिमियाको परीक्षण गराउनुभएको छैन”, उनले भने, “यसले गर्दा पनि अझै सबै व्यक्तिको यो रोग पहिचान हुनसकेको छैन ।”

यसका लागि दाङमा पनि सिकलसेल एनिमियाको जाँचका लागि परीक्षण गर्ने मेसिन भित्र्याउनुपर्ने उनको भनाइ छ । अहिले सिकलसेल एनिमिया जाँच गर्नका लागि नेपालगञ्ज, काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको भन्दै यो सेवा दाङमै उपलब्ध गराएर जिल्लाभरका थारू समुदायको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । दाङमा एक लाख ३७ हजार थारू समुदायको जनसङ्ख्या भएको भन्दै यसको १५ प्रतिशतमा सिकलसेल भएको हुनसक्ने यसअघिको अध्ययनले देखाएको थियो ।

रोगीको पहिचानका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मेसिन ल्याउने गरी आगामी आर्थिक वर्षको नीति बनाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमखु घनश्याम पाण्डेले बताए । साथै औषधि वितरणमा सहजता ल्याउनका लागि प्रदेश सरकारसँग समेत समन्वय भएको बताए । यो रोग रगतको कमीले लाग्ने वंशानुगत रोग हो । प्रायः यो रोग थारू समुदायलाई लाग्ने गरेको छ ।