समाचार

समुदाय–प्रहरी सहकार्य भएमात्र अपराध नियन्त्रण हुन्छ

काठमाडौँ । समुदायमा हुने अपराध नियन्त्रणका लागि समुदायसँग सहकार्य आवश्यक रहेको बताइएको छ । सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले शनिबार यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले समुदाय–प्रहरी सहकार्य भएमात्र अपराध नियन्त्रण हुने बताएका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले समाजको विकास तथा शान्ति सुरक्षा कायम राख्न समुदायका सबै सदस्यले समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताईन्। समाजमा आइपर्ने समस्याको सामना गर्न सबै समुदायका सदस्य सक्रिय भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति, विसङ्गति र दुरूपयोगलाई निरुत्साहित गर्न स्थानीय निकाय तथा सङ्घसंस्थासँग सहकार्य तथा समन्वय गर्दै अगाडि बढ्ने बताए।

कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले अपराध नियन्त्रण प्रहरी एक्लैले नसक्ने भन्दै समुदायसँग सहकार्य आवश्यक भएको उल्लेख गरे। काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहनबहादुर विष्टले शान्त समाज निर्माणका लागि प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।