गण्डकी प्रदेश

आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बागलुङ । जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ ।

रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष गौरीशङ्कर सुवेदीले बताए। अमर माविसहित, नवयुवक, करलिम, ग्राम विकास, खोलातिर, भीमसेन, बालविकास, प्रजातन्त्र, श्रीरामलगायतका १२ आधारभूत विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री पाएका हुन् । जापानमा क्रियाशील संस्था बिहुँकोट समाज जापानले स्थापना गरेको परोपकार अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

समाजले गाउँमा सेवामूलक कार्य गर्नका लागि केही वर्षअघि रु एक करोडको अक्षयकोष स्थापना गरेको थियो । धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रको उत्थानमा अक्षयकोषको रकम खर्च हुँदै आएको छ । अक्षकोषबाट दुःख, विपत्का बेला राहत सहयोगसमेत प्रदान गर्ने गरिएको छ । “गाउँको शैक्षिक, सामाजिक विकासमा जापानमा बस्ने बिहुँकोटवासीको महत्वपूर्ण योगदान छ”, अध्यक्ष सुवेदीले भने ।

शैक्षिक सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर थापाले प्रवासी नेपालीको सामाजिक उत्तरदायित्व र सेवाभावको प्रशंसा गरे । बिहुँकोट समाज जापानले गर्ने सहयोग आदानप्रदान र समन्वयका लागि जापान समाज बिहुँकोट क्रियाशील रहँदै आएको छ ।