राजनीति

कम्युनिष्ट नेतृत्वबाटै तीव्रत्तर विकास भई क्रान्तिले नयाँ रुपान्तरणको सिर्जना गर्छ: नेता श्रेष्ठ

भक्तपुर । नेकपाका नेता नारायणकाजी श्रेष्ठले दुईतिहाइ कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद रहेको बताएका छन् । भक्तपुरको खरिपाटीमा मदन भण्डारी एशियाली विद्यालयले सञ्चालन गरेको २१ दिने शैक्षिक तालीमको शनिबार समापन कार्यक्रममा बोल्दै उनले माक्र्सवाद र समाजवादबाट मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुने विचार व्यक्त गरे।

उनले कम्युनिष्ट नेतृत्वबाटै नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुने बताउँदै हरेक क्रान्तिले नयाँ रुपान्तरणको सिर्जना गर्ने भनाइ राखे। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए। मन्त्री थापामगरले यो सरकारले जनताको मन र भावना जितेर समृद्ध नेपालको परिकल्पना पूरा गर्ने बताए।

कार्यक्रममा नेकपा नेताहरु बलराम बाँस्कोटा, सोम मिश्रलगायतले मदन भण्डारी एशियाली विद्यालय कम्युनिष्ट नीति, दर्शन र सिद्धान्त पढ्न, बुझ्न र जान्न पाउने अवसरका रुपमा स्थापना भएको बताए। तालीममा सहभागी प्रशिक्षार्थीले विद्यालयबाट माक्र्सवाद र समाजवादी सिद्धान्तका साथै त्यसको प्रयोगका बारेमा उत्कृष्ट अनुभव र ज्ञान हासिल भएको धारणा राखे।

तालीममा ब्राजिल, चीन, मोरक्को, मलेशिया, अर्जेन्टिना, इटली, भेनेजुयला, इन्डोनेसिया, पाकिस्तान, जाम्बिया, नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिकालगायत १४ मुलुकका ५० जना सहभागी रहेका थिए ।