समाचार

लोकतन्त्रमा ठूला र साना सबैले सँगसँगै बाँच्न पाउनुपर्छः मन्त्री बाँस्कोटा

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजवादी न्यायले ठूला–साना कसैलाई भेदभाव नराख्ने बताएका छन् । आज बनेपामा आयोजित डाँडापारी सन्देश साप्ताहिकको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रमा ठूला र साना मिडिया सँगसँगै बाँच्न पाउनुपर्ने बताए ।

“साना मिडियाले पनि विज्ञापन पाउनुपर्छ कि पर्दैन ?” उनको प्रश्न थियो, “काम गर्ने श्रमिकले पैसा पाउनुपर्छ कि पर्दैन ?” उनले नेपाली मिडियाको क्षेत्रमा आमूल परिर्वतन गर्नु पनि जनताको चाहना रहेको उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले जनआन्दोलन २०६२/६३ मुख्य उद्देश्य समाजवाद निर्माण गर्ने लक्ष्य भएको बताउँदै समाजवादी राज्यको विशेषता तल्लो वर्गलाई पनि बाँच्न पाउने अधिकार दिनु, बोल्न , लेख्न पाउने र श्रमको मूल्य पाउने अधिकार दिनु रहेको उल्लेख गरे । उनले भने, “समाजवादी न्यायअन्तर्गत समानुपातिक विज्ञापन दिने भयो भनेर एकलौटी अथवा आम्दानीको ठूलो हिस्सा आफूमा केन्द्रीत गर्नेको मन यतिबेला पोलेको हुनुपर्छ ।”

मन्त्री बाँस्काटाले कतिपय मिडिया मालिक श्रमजीवीलाई पारिश्रमिकको व्यवस्था गर्नुपर्छ र अकूत कमाइरहेको ठाउँमा रोक लाग्ला भन्दै आक्रमणमा उत्रिनसक्ने बताए । उनले भने, “मिडिया विधेयक प्रचार गरेजस्तो होइन, लेखेकै आधारमा कोही कसैमाथि मुख थुन्ने, कलम थुत्ने गर्दैनौ, हामीलाई हाम्रो संविधानले त्यस्तो अधिकार दिएको छैन ।” उनले आफूहरु लोकतन्त्रका निम्ति लडेको दाबी गर्दै “जबजब श्रमिकका कुरा हुन्छन्, तबतब कम्युनिष्ट सरकार, दुईतिहाइको बहुमतको सरकारले तानाशाही दम्भ देखायो भन्दै कराउँछन्”, भने । “अहिले जनतालाई भ्रममा पार्ने कोकोहोलो मच्चाइँदैछ”, उनले थपे, “मिडिया काउन्सिलका विषयमा बहस र विवाद चलिरहँदा के पत्रकारिता क्षेत्रमा वर्ग पक्षधरताको गन्ध छ कि छैन, यदि छैन भने व्यक्तिगत पक्षको बहसमा उत्रिर्नु नपर्ने हो ।”

मन्त्री बाँस्कोटाले कसैले चौकीदार भन्ने गरेको र कसैले हुलिया खोजेको प्रसङ्गमा आफूले कुनै चिजको चोरी, डकैती र भ्रष्टाचार नगरेको बताउँदै चौकीदार बन्नु नै राम्रो भएको उल्लेख गरे । उनले भने, “हुलिया खोज्दै हिँड्नुपर्ने न म कुनै वकिल र प्रहरी होइन, मेरो जे हुलिया छ त्यो हुलिया काभ्रेपलाञ्चोक जिल्लाले बनाइदिएको छ, नपत्याए गत निर्वाचन सम्झनुस् नेपालमै दोस्रो भोट ल्याएर जितेको व्यक्ति हुँ, त्यसैले मेरो हुलिया तपाईंहरुका माझ म यसैगरी देखाइरहन्छु ।” उनले आफ्नो हुलियाले कहिल्यै पनि पैसाका लागि तस्करी र राजश्व छल्नेको पक्ष लिनुपर्छ भनेर नभनेको दाबी गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्यद्वय रत्न ढकाल र चन्द्र लामा, नेकपाका नेता सूर्यमान दोङ, इन्द्रबहाुदर तामाङ, शेखर लामा, प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझा, पत्रकार महासङ्घ प्रदेश सचिव यदुनाथ गौतम तथा काभ्रेपलाञ्चोकका अध्यक्ष मोतीराम तिमल्सिनालगयातले पत्रिका निरन्तरताको शुभकामना दिएका थिए ।