समाचार

प्रेशलाई कुण्डीत हुनेगरी कानून निर्माण गर्ने सरकारको नियतले लोकतन्त्र खतरामाः नेता खाँण

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा सरकारको ध्यान अन्यत्र केन्द्रित हुन थालेको बताएका छन् ।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज यहाँ आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै उनले प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र जस्ता संविधानका मूल मान्यतालाई कुण्ठित हुने गरी विधेयक मस्यौदा भएकाले लोकतन्त्र मासिने खतरा बढेको आरोप लगाए । लोकतन्त्र मासिने खतराबारे जनतालाई सचेत गराउन जागरण अभियान कुनाकाप्चा एवं टोल टोल पुग्ने नेता खाँणको भनाइ थियो ।

पार्टी केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर अन्य जुनसुकै शासन व्यवस्था ल्याउने उद्देश्यका विरुद्ध संसद्, सडकलगायत सबै मोर्चाबाट आन्दोलन गर्नुपर्ने अवस्था आइसकेको बताए । मिडिया काउन्सिल, मानव अधिकारलगायत विधेयकको मस्यौदाले लोकतान्त्रिक पद्धतिमाथि प्रहार गरेको उनले सुनाए ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, काठमाडौँ काङ्ग्रेस सभापति कृष्ण सबुज बानियाँ, क्षेत्रीय सभापति राजु श्रेष्ठ लगायतले संविधानको मूल मर्मविपरीत निर्माण हुने जुनसुकै कानूनको विरुद्धमा पार्टीले सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।