खेलकुद

प्रधानमन्त्री कप क्रिकेट: प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य

काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ५० ओभर पूरा खेल्दै नौ विकेटको क्षतिमा २८८ रनको योगफल बनाएको हो । एपिएफका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले । सुमितले सर्वाधिक ९४ रनको योगदान दिए भने पृथुले ५९ रन बनाए । १०३ बल खेलेका सुमितले छ छक्का र पाँच चौका प्रहार गरे । त्यस्तै ५८ बल खेलेको पृथुले एक छक्कासहित तीन चौका प्रहार गरे ।

त्यसैगरी एपिएफका प्रदीप ऐरीले ४०, अमरसिह रौतेलाले २७, भुवन कार्कीले १५, शरद भेषवाकरले १२ तथा आशिफ शेखले सात रन जोडे । बलिङतर्फ प्रदेश ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले समान तीन÷तीन विकेट लिए भने पारस खड्का र सुर्य तामाङले समान एक/एक विकेट लिए । विभिन्न १० टोली सहभागी उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ ।