लुम्बिनी

तुलसीपुरमा बृहत् योग विज्ञान शिविर शुरु

लमही । दाङको तुलसीपुरमा बृहत् योग विज्ञान शिविर शुरु भएको छ । आजदेखि शुरु भएको योग शिविर पाँच दिनसम्म चल्ने छ । सबै नागरिकलाई योगमा आबद्ध गराउनुका साथै योगसम्बन्धी विचार र दर्शनका बारेमा जानकारी दिन तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा शिविर सञ्चालनमा आएको हो ।

विकास र समृद्धिका लागि मानिस स्वस्थ हुनुपर्ने र मानिस स्वस्थ बन्नका लागि योग अपरिहार्य भएको भन्दै शिविरको आयोजना गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए। “मानिस स्वस्थ हुन योग अपरिहार्य भएकाले सबै नागरिकलाई यसबारे जानकारी दिन शिविर गरेका हौँ”, उनले भने। बिहान ४ बजेदेखि ६ बजेसम्म पाँच दिनसम्म योग शिविर हुनेछ ।

पतञ्जलि योग समिति दाङको समन्वयमा १५ गतेसम्म चल्ने छ शिविरमा समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण दिनेछन् । शिविरको उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले शुभारम्भ गरेका थिए । त्यस अवसरमा उहाँले योगलाई गाउँ–गाउँसम्म पुर्‍याउनु पर्ने बताए।

योगमा पहिलो दिन एक हजारभन्दा बढी नागरिकको सहभागिता थियो । तुलसीपुरको अरणीको मैदानमा भएको योग शिविरमा सहभागी धेरै रहे पनि व्यवस्थापन भने प्रभावकारी नभएको सहभागीले गुनासो गरेका छन् । “योग गर्दा सुत्नु पर्छ, उफ्रिनु पर्छ, त्यसका लागि पर्याप्त ठाउँ चाहिन्छ”, सहभागी बालिका केसीले भने, “तर यहाँ पर्याप्त ठाउँ नहुँदा योग गर्न समस्या हुने गरेको छ ।”

पछिल्लो समय दाङमा योग गर्नेको सङ्ख्या बढेको छ । दैनिक १० हजार बढीले योग गर्ने गरेको पतञ्जलि समिति प्रदेश नं ५ का प्रभारी प्रेम शाहले बताए। दाङमा दैनिक १३६ कक्षा सञ्चालन भइरहेको छन् । जसबाट दाङबाट १० हजारले योग गर्ने गरेका छन् । उनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनुभएको भन्दै यो सबै योगबाट प्राप्त हुने समेत बताए ।

योग अभ्यासले क्यान्सर, मधुमेह, बाथरोग, उच्च रक्तचाप, दम, ढाड दुख्ने, मानसिक तनाव, मोटोपन, अम्लपित्त, कब्जियतजस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि निको हुन सहयोग गर्ने भन्दै पछिल्लो समय आकर्षण बढिरहेको बताइएको छ ।