कर्णाली प्रदेश

कार्यालय प्रमुखकै कार्यकक्षमा तालीम

सुर्खेत । “काम त अहिले पनि गरिरहेकै छौँ तर के गर्ने, निकै अप्ठ्यारो परिस्थितिबाट । नगरौँ भने नहुने र गरौँ भने आवश्यक पूर्वाधार एवं स्रोत साधनको अभावै अभाव छ”, कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीले भने ।

पंगेनी कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयअन्तरगत पशुसेवा तालीम केन्द्र सुर्खेतमा कार्यालय प्रमुखका रुपमा कार्यरत छन्। अभावका बीचबाट काम गर्नुपर्दा सेवाग्रहीलाई भने जस्तो सेवा दिन नसकिएको उनले बताए। १२ कर्मचारी दरबन्दी भएको यस तालीम केन्द्रमा अहिले दुईजनाले काम गर्नुपर्ने बाध्यता छ । “न आफ्नै तालीम केन्द्रको भवन छ नत दरबन्दीअनुसारको कर्मचारी”, रासससँग दुखेसो पोख्दै उनले भने।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञको अति पुरानो भवनलाई मर्मत गरी आफ्नै कार्यकक्षमा प्रदेशस्तरीय तालीम सञ्चालन गरिएको प्रमुख पङ्गेनीले बताए। उनले अगाडि भने, “एक उपसचिवसहित चार अधिकृत, तीन प्राविधिक सहायक कर्मचारी मात्रै छौँ । प्रदेशस्तरीय तालीम केन्द्रको कार्यालयमा मन्त्रालयको पुराना कुर्ची, सोफासेट ल्याएर काम चलाएको छु । सवारी साधन पनि नहुँदा आवातजावात गर्न त्यतिकै अप्ठ्यारो भएको छ ।”

काम गर्ने अनुकूल वातावरण नभए पनि आफ्नो दायित्व पूरा गरेको उनको भनाइ थियो । उनका अनुसार आफ्नै कार्यकक्षमा भए पनि कर्मचारी र व्यावसायिक किसान गरेर १२४ लाई तालीम प्रदान गरिएको छ । असार पहिलो सातासम्म शतप्रतिशत प्रगति देखाउने उहाँको दाबी थियो । ज्ञान, सीप र प्रविधि प्रवाह गर्ने तालीम केन्द्रको यो हालतले भने काम गर्न कठिन भएको उनको गुनासो थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्मचारीले गाह्रो परिस्थितिसँग जुधेर पनि काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे। प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउँदै गरेको जनाउँदै उनले तालीम केन्द्रको भौतिक आवश्यकता, आगामी चालू आवमा सञ्चालन गर्ने विशेष योजना र कार्यक्रम तयार पारेर जतिसक्दो छिटो दिन उनले कर्मचारीलाई निर्देशनात्मक सुझाव दिइएको बताए।