सुदूरपश्चिम

लक्ष्मी बैंकद्वारा बालबालिकालाई शैक्षिक सामग्री वितरण

डडेल्धुरा । डडेल्धुरा अमरगढी–७ पोखरामा रहेको बेथस्दा अनाथालयका बालबालिकलाई लक्ष्मी बैंक लिमिटेडले शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको तेस्रो वार्षिकोत्सवका अवसरमा अमरगढी शाखाले सो अनाथालयका १२ बालबालिकालाई पुस्तक, पोशाक, खेलकूद सामग्री, खानेकुरा र सिलाइ खर्चसमेत वितरण गरेको हो ।

बालबालिकाको शैक्षिक अवस्था सुधारसँगै शारीरिक स्वस्थताका लागि खाजा र शैक्षिक सामग्री तथा खेलकूदका सामग्री वितरण गरेको बैंकका शाखा प्रबन्धक विनितविक्रम सिजापतीले जनाएका छन् । विभिन्न कारणले आफन्त गुमाएर बालबालिका अनाथालयमा आश्रय लिई पढ्दै आएका छन् ।

विसं २०७० मा स्थापित अनाथालय स्थानीय दाताको दानबाटै सञ्चालनमा रहेको सञ्चालक जित ताम्रकारले बताए । अनाथालका बालबालिका उग्रतारा माविमा १ देखि १० कक्षासम्ममा अध्ययनरत छन् । अनाथालयमा १७ अनाथ बालक पुगेकोमा पाँच जनालाई आफन्तले घर लगिसकेको बताइएको छ ।