लुम्बिनी

रामपुरमा स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकलाई सम्मान

बेझाड । पाल्पाको रामपुर नगरपालिका–१ मा चलेको निःशुल्क स्वास्थ्य शिविरमा ५०० भन्दा बढीले सेवा लिएका छन् । सेवा लिनेमध्ये महिला बढी रहेको पाइएको छ । शिविरमा ४०६ महिला र १२६ पुरुष गरी जम्मा ५३२ ले सेवा लिएको गाडाँकोट स्वास्थ्यचौकी प्रमुख मजीबुर रहमान सेखले जानकारी दिए।

शिविरमा महिला तथा स्त्रीरोग, हाडजोर्नी, नसा तथा मनोरोग, छाला तथा यौनरोग लगायतका विशेषज्ञ सेवा प्रदान गरिएको थियो । नगरपालिकाको केन्द्रदेखि टाढा दुर्गममा पर्ने यस वडाका नागरिकले गाउँमै निःशुल्क स्वास्थ्य शिविर पाएपछि खुशी भएका छन् ।

शिविरको शुक्रबार रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै नागरिकको सेवा सुविधालाई मध्यनजर गर्दै बेला बेलामा गाउँ बस्तीमा पुगेर स्वास्थ्य शिविर सञ्चालनमा नगरपालिकाले जोड दिएको बताए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले मानिसले सामान्य समस्यालाई हेरचाह नगर्दा पछि त्यही रोगले ठूलो रुप लिने हुँदा समयमा नै औषधोपचारमा ध्यान दिन आग्रह गरे ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले दुर्गम गाउँ बस्तीमा आएर आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन पाउँदा खुशी लागेको कुरा बताए। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ को आयोजना र रामपुर नगरपालिकाको सहआयोजनामा शिविर चलेको हो ।

ज्येष्ठ नागरिकलाई सम्मान

रामपुर नगरपालिका–५ पाल्पाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले १०९ वर्षीया सुनकुमारी श्रेष्ठलाई सम्मान गरेर कार्यक्रम उद्घाटन गरे ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगरप्रमुख थापाले ज्येष्ठ नागरिक मुलुकको अभियन्ता र प्रेरणाको स्रोत रहेको बताए । “ज्येष्ठ नागरिकसँग प्रशस्त अनुभवको खानी रहेकाले उहाँहरुबाट अबका युवापुस्ताले धेरै ज्ञान सिक्नुपर्ने आवश्यक छ”, उनले भने।

बूढेसकालमा सम्मानित हुन पाउँदा खुशी र रमाइलो लागेको श्रेष्ठ बताउँछन् । वडाभित्र रहेका ५५ जना ज्येष्ठ नागरिकलाई झुल र पौष्टिक आहार दिएर सम्मान गरिएको हो । वडाको यस आर्थिक वर्षको रु ५० हजार बजेट विनियोजन गरी ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न सम्मान गरेको अध्यक्ष हिमाल मल्लले बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे र प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले राज्यले दिएको हरेक सेवा सुविधा ज्येष्ठ नागरिकले पाउनुपर्ने र नपाएको भएमा सम्बन्धित निकायमा खबरदारी गर्न अनुरोध गरे ।