अन्तर्राष्ट्रिय

भवनमा आगलागी हुँदा विद्यार्थीसहित १५ जनाको मृत्यु

गुजरात । भारतमा शुक्रबार कम्तीमा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ । सुरातको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा पनि उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

‘लक्ष्यशिला कम्प्लेक्स’मा रहेको कोचिङ् सेन्टरमा रहेका विद्यार्थीहरु सो आगलागीमा परेको समाचारमा जनाइएको छ । “आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने देखिएको छ,” सुरातका प्रहरी प्रमुख सतिश कुमार शर्माले भने। घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन्। उनले घाइतेहरुको स्वास्थ्य लाभको पनि कामना गरेका छन् ।

मोदीले ट्वीटरमा लेखेका छन्,“सुरातमा भएको अत्यन्त दुखद घटना थाहा पाएर मलाई विक्षिप्त बनाएको छ, मृतकप्रति मेरो हार्दिक श्रद्धान्जली छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” उनले घटना भएको गुजरात प्रदेशको सरकारलाई पनि प्रभावितहरुलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको पनि उल्लेख गरेका छन् ।

गृहमन्त्री राजनाथ सिंहले पनि ट्वीट गर्दै आगलागीमा परी मृत्यु भएका र घाइते भएकाहरुप्रति दुःख व्यक्त गरेका छन् । त्यसैगरी गुजरातका मुख्यमन्त्री विजय रुपानीले समेत घटनाप्रति दुःख व्यक्त गर्दै घटनाका बारेमा तत्काल अनुसन्धान गर्न र आगलागीमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार चार लाख रुपैँया राहत स्वरुप उपलब्ध गराउने घोषणा पनि गरेका छन्।