खेलकुद

छ करोडको लागतमा गाउँपालिकामा खेलमैदान बन्दै

ललितपुर । कोञ्ज्येसोम गाउँपालिकामा खेलमैदान निर्माण हुने भएको छ । गाउँपालिकाको खेलकूद क्षेत्रको विकासका लागि मैदान निर्माणको तयारी गरिएको हो । खेल मैदानका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले बताए।

गत वर्ष अध्ययनका लागि गाउँपालिकाले रु १० लाख बजेट छुट्टाएको थियो । मैदान निर्माणका लागि रु छ करोड लाग्ने प्रतिवेदनमा उल्लेख छ । निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको सिङ्तानले बताए। उनले भने, “आगामी बजेटमा गाउँपालिकाले मैदानका लागि बजेट विनियोजन गर्नेछ ।”

ललितपुरको ग्रामीण क्षेत्रमा खेल मैदानको अभाव छ । उक्त मैदान बने जिल्लाका तीन गाउँपालिका र गोदावरी नगरपालिकावासी लाभान्वित हुने छन् । गाउँपालिकामा खेल विकासको पर्याप्त सम्भावना भए पनि सधैँ खेल मैदानको अभाव छ ।

गाउँपालिकाको वडैपिच्छे फुटबल क्लब छन् । स्थानीय युवाको खेलप्रति निकै आकर्षण छ । “मैदान निर्माण भएपछि विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्नेछौँ”, अध्यक्ष सिङ्तानले भने । गाउँपालिकाले गत वर्षदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।