समाचार

ओली सरकारबाट देश र जनताको हितमा काम भएनः कार्यबाहक सभापति निधि

राजविराज । नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । काङ्ग्रेस क्षेत्रीय कार्यसमिति–४ द्वारा आज सप्तरीको रुपनी गाउँपालिकास्थित कटैयामा आयोजना गरिएको जागरण अभियानमा उनले वर्तमान सरकारले मधेश र पहाड दुवै क्षेत्रका लागि केही गर्न नसकेको आरोप लगाए।

उप–सभापति निधिले मधेश, तराई, पहाड र हिमालका जनताको सुखदुःख बुझ्ने एकमात्र पार्टी काङ्ग्रेस भएको दाबी गरे । पछिल्लो चुनावमा पराजय ब्यहोर्नुपरेको बदला काङ्ग्रेसले अब आउने चुनावमा लिनुपर्ने उनको भनाइ थियो । काङ्ग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले काङ्ग्रेसले नै मधेशको माग अनुसार संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । काङ्ग्रेस नेता महेन्द्र यादवले आफूलाई मधेशवादी भन्ने दलहरु सत्तामा जान मात्र राजनीति गरिरहेको आरोप लगाए ।