अन्तर्राष्ट्रिय

बेलायतकी प्रधानमन्त्री मेद्वारा राजिनामा

लण्डन । बेलायतकी प्रधानमन्त्री टरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गरेकी छन् ।

उनले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि दलको नेतृत्वसँगै प्रधानमन्त्रीको पदबाट राजिनामा दिन लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

“मैले कन्जर्भेटिभ नेताका रूपमा आगामी जुन ७ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिने र नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्ने निर्ण लिएकी छु,” प्रधानमन्त्रीको डाउनिङ स्ट्रीटस्थित सरकारी निवास बाहिर एक भाबुक सम्वोधनमा भनिन् ।

“मलाई ब्रेक्जिट सम्झौतामा सफलता पाउन नसकेकोमा धेरै दुःख लागेको छ र यो बिषयले सधैँ पश्चाताप गराइरहनेछ,” प्रधानमन्त्री मेले भावुक हुँदै भनिन् । प्रधानमन्त्रीको सम्बोधनका क्रममा उनी भावुक बन्दा उनको गला नै अवरूद्ध भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले पार्टी नेतृत्वबाट राजिनामा दिनुलाई बेलायती सत्ताधारी दलमा नेतृत्वका लागि प्रतिस्पर्धाको शुरूवातका रूपमा हेरिएको छ । अर्को नेतृत्व नआउँदासम्म प्रधानमन्त्री मे ले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्नेछन् ।

मेले भनिन्, “मैले आगामी जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजिनामा दिनेछु ।” त्यसपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू हुनेछ । नेतृत्वको लागि हुने प्रतिस्पर्धा आगामी केही हप्ता लाग्ने अनुमान गरिएको छ ।