समाचार

सालो र गाडीचालकसहित फेरि नक्कली नोट कारोबारीमा यसरी पक्राउ परे यूनिस…

काठमाण्डौ । लागुऔषध र खोटा चलन (नक्कली नोट कारोबार) मा पटक/पटक पक्राउ परी कैद भुक्तानी गरेका ललितपुर महानगरपालिका–१३ ताल्सिखेलका यूनिस अन्सारीले किन नक्कली नोटको कारोबार नछाडेका हुन् ?

विगतमा कारागारभित्रै गोली हानी हत्याको प्रयास हुँदासमेत गैरकानूनी पेशालाई निरन्तरता दिनुमा खास के छ ? आजमात्रै सात करोड बढीको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि उनीमाथि यक्ष प्रश्नहरु खडा भएको छ ।
पाकिस्तानबाट कतारहुँदै नेपाल भित्रिएको दुई हजार दरका सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित पक्राउ परेका छन् । कारोवारमा उनका नातेदारलाई समेत संलग्न हुने गरेको रहस्य पनि खुलेको छ ।

विशेष सुराकीको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा तीन पाकिस्तानी नागरिकसहित अन्सारी, उनका गाडीचालक तथा सालो पक्राउ परेका छन् ।

नक्कली भारतीय रुपैयाँ लिन जाँदा विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्नेमा अन्सारीसहित रौतहटको रमौली वैरिया नगरपालिका–१ का सुयल खान र भक्तपुर सूर्यविनायक नगरपालिका– ५ बालकोटका सुदन रानाभाट छन् । खान अन्सारीका सालो हुन् भने रानाभाट गाडी चालक ।

दुई सुटकेशमा पैसासँगै नेपाल प्रवेश गर्ने एक महिलासहित तीन पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ वर्षका मोहम्मद अख्तर, ६७ वर्षका नासिर उद्दिन र ३९ वर्षीया नाडीया अन्वर छन् । पाकिस्तानी कतार एयरवेजबाट पैसा ल्याउँदै थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।

नक्कली नोट चलनमा पटक/पटक संलग्न देखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । उनले भने आफूलाई फसाइएको दाबी गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको गतिविधि सङ्कास्पद देखिएपछि प्रहरीले उनीहरुलाई निगरानीमा लिएको थियो । त्यही बेला अन्सारी सहितको टोली आएपछि विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको क्षेत्रीले बताए । “यो एक व्यक्तिले गरेको होइन, यो सङ्गठनको रुपमा गरेको हुनुपर्छ, विस्तृत थप अनुन्धानबाट थाहा हुन्छ, उनीहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा केलाउने र उनीहरु कहाँ कहाँ गए त्यसको पाटोपनि अनुसन्धानमा छ ।” थापाले भने । प्रहरी स्रोतकाअनुसार उनले माग गरेकोभन्दा बढी रकम आएको छ ।

थापाले थपे, “युनुस अन्सारी भनेको नेपाल प्रहरीको हरेक समय निगरानीमै रहेको मान्छे हो, भन्ने कुरा जानकारी गराउन चाहान्छु ।” यसको मतलब विगतदेखिकै प्रहरीको निगरानीको प्रतिफल हो आज करोडौँ भारुसहित पक्राउपर्नु ।

पटक/पटक खोटा चलनमा संलग्न
अन्सारीको पृष्टभूमि सकारात्मक छैन । जाली नोट चलन र लागुऔषधमा मुद्दामा दुई वटा कारागार गरिसकेका व्यक्ति हुन, अन्सारी । पहिलो पटक विसं २०६६ पुस १८ गते पक्राउ परेका थिए । विसं विसं २०६६ माघ १७ गते कारागार चलान भएकामा विसं २०७० असोज १८ गते कैद सकेर छुटेका थिए ।

दोस्रो पटक २०७० साल माघ १० गते पुनः पक्राउ परेका उनी चैत १७ गते कारागार चलान भएकामा कैद भुक्तानी गरी २०७६ साल फागुन २ गते छुटेका व्यक्ति थिए । यसअघि अन्सारी कुनै एक टेलिभिजन सञ्चालकका रुपमा समेत थिए । उनीमाथि २०६७ सालमा केन्द्रीय कारागारभित्र गोली प्रहार समेत भएको थियो ।

आज बरामद भएको रकम नेपालमा खपत गर्नका लागि ल्याएको नभई अन्यत्रै पठाउने योजना हुनसक्ने प्रहरीको भनाइ छ । पाकिस्तान र भारतबीच अस्थिरता कायम गर्ने यसको उद्देश्य हुनसक्ने प्रहरीको अनुमान छ । यसरी ठूलो परिणाममा रकम आउँदै छ भने थाहा पाएपछि समयमै सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर पक्राउका लागि आवश्यक तयारी गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बताए ।

आज महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रहरीले उनीहरुलाई सार्वजनिक गर्दा अन्सारी भने ढाका टोपी लगाएर खुला रुपमा देखिएका थिए । उनीमा कुनै हिनताबोध देखिएको थिएन । उनले माक्स लगाउन नमानेको प्रहरीले जनाएको छ ।

पत्रकारको एक प्रश्नमा उनले आफूले मास्क लगाउनुको अर्थै नभएको प्रतिक्रिया दिए । पत्रकारका अन्य प्रश्नको भने उनले उत्तर दिएनन्, मुसुमुसु हाँसिरहे ।

यस्तो छ कानूनी व्यवस्था

मुलुकी अपराध संहिताको दफा २५६ मा कसैले जाली नोट मुद्रा बनाउन र उद्योग गर्न नहुने उल्लेख छ । बनाउनेलाई पाँचदेखि १० वर्षको कैद रु ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ । नक्कली मुद्रा हो भन्ने जानीजानी चलन गराउने नियतले त्यस्तो मुद्रा खरीद वा बिक्री तथा निकासी वा लेनदेन गरेमा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ । यही मुद्दामा उनीहरुको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।