गण्डकी प्रदेश

विभिन्न जातका फलफूलका बिरुवा वितरण

लेखनाथ । बढ्दो बसाइँसराइको क्रमले खाली देखिएको गाउँमा नै रोजगारीका अवसर र आयआर्जनमा सहयोग पुग्ने गरी कास्कीको रुपा गाउँपालिकाले जनतालाई फलफूलका बिरुवा वितरण गर्ने योजना बनाएको छ ।

गाउँका बाँझो जग्गालाई सदुपयोग गरी किसानको आयआर्जनमा सहयोग प¥याउने उद्देश्यले विभिन्न जातका फलफूलका बिरुवा लगाउने योजना बनाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।

शुरुमा गाउँपालिकाका सात वटा वडाको माटो परीक्षण गरेर कुन ठाउँमा कुन बिरुवा सुहाउँदो हुन्छ भन्ने तथ्याङ्कसहित गाउँपालिकाको ७५ र किसानको २५ प्रतिशत सहभागितामा एक हजार बिरुवा लगाउने योजना अनुसार विरुवा निकासी भएको अध्यक्ष ओझाले बताए ।

वातावरणीय मूल्याङ्कन गरी यो क्षेत्रमा आँप, लिची, एभोकाडो, अमला, हर्रो, कफीलगायतका बिरुवा खरीदका लागि गाउँपालिका र किसानको संयुक्त लगानीमा बिरुवा निकासी भएका छन् । यसका लागि करीब १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निकासी भएका विरुवा किसानलाई तुरुन्त वितरण गर्ने र व्यवस्थित ढङ्गले बिरुवा लगाउने योजना तथा कार्यक्रम रहेको अध्यक्ष उहाँले जानकारी दिए।

बिरुवा लगाउनु मात्र ठूलो कुरा नभई तिनको उचित संरक्षणका लागि अनुगमनको समेत व्यवस्था गरिएको छ भने एक वर्षपछि बिरुवाको गोडमेल र रेखदेखका लागि स्वयम् किसानहरुलाई नै सक्रियतापूर्वक परिचालन गर्ने योजना रहेको बताइएको छ ।