कृषि

ब्लास्ट रोगका कारण धानखेती सखाप

भद्रपुर । झापाको कमल गाउँपालिका–२ समयगढमा पाक्न लागेको धानको बोटमा ‘नेक ब्लास्ट’ नामक रोग देखापरेको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले ३० हेक्टरमा लगाइएको धानको बोटमा केही दिनयता देखापरेको सो रोगले धानखेती सखाप भएको छ भने थप ६० हेक्टर धान खेतीतिर रोग सर्दै गएको छ ।

रोग देखापरेको खबर आउनासाथ कृषि ज्ञान केन्द्र झापाले प्राविधिक टोली त्यसतर्फ पठाइसकेको र गाउँपालिकाको स्थानीय कृषि विकास शाखासँग मिलेर रोग नियन्त्रणका लागि ‘कासुगामाइसिन’ नामक विषादी छर्कने कार्य आज बिहानदेखि धमाधम भइरहेको भट्टराईले बताए ।

स्थानीय किसानहरुले लगाएको ‘हर्दिनाथ १’ जातको धानको बोटमा बाला झुल्न थालेका बेला रोगको प्रकोप देखापरेको हो । प्रतिबिगाहा सय मनसम्म फल्ने सो धानमा रोग लागेपछि किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । स्थानीय किसान लीलाकुमार श्रेष्ठले आफूले १० बिगाहामा लगाएको धान खेती रोगको प्रकोपले हेर्दाहेर्दै परालमा परिणत भइसकेको बताए । सो रोग लागेको केही दिनमै हरियो बोट कुहिएर सुक्ने गर्दछ ।