स्वास्थ्य

नर्सहरुको आन्दोलन तुहाउन संघकी अध्यक्षलाई निर्देशक बनाउने गोप्य सहमति

भक्तपुर । भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रमा अनशनमा बसेका नर्सहरुले १० बुँदे सहमति धोका भएको भन्दै अनसन जारी रहेको बताएका छन् । अस्पताल प्रशासनले झुक्याएर केही नर्सहरुसंग सहमति गरेपनि आफूहरुको मागकाबारेमा कुनै सम्बोधन नभएको भन्दै आज १३ दिनपनि अनसन जारी रहेको बताएका हुन् ।

नर्सहरुको पक्षमा बिभिन्न माग राख्दै सहिद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रमा अनसनरत नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत नर्स जिता बरालले आफ्नो अनसन र आन्दोलन जारी रहेको बताए ।  गत आइतबार साँझ नर्सिङ संघको पहलमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र अनसनरत नर्सहरु बिच १० बुँदे सहमति धोका भएको र आफूहरुलाई त्यसबारेमा कुनै जानकारी नै नदिई अफवाह फैलाएर उल्टो षडयन्त्र गरेको आन्दोलनरत नर्सहरुको भनाई छ ।

अनशनरत नर्स दिक्की शेर्पाले आफूलाई होस नआउने औषधि खुवाएर थाहै नहुनेगरि जुस खुवाएर अरुले गरेको हस्ताक्षरलाई सहमति भयो भन्दै अफवाह फैलाउने कार्य भएको र अस्पताल प्रशासनले आन्दोलन तुहाउने षडयन्त्र गरेको बताए ।

आफूहरुले अनसन नतोडेको र आन्दाृलन तथा अनसन जारी रहेको बताउदै उहाँले आन्दोलनरत नर्सहरुमाथि नर्सिङ्ग संघ र अस्पताल प्रशासनले ठूलो षडयन्त्र गरेको उनको भनाई छ । १० बुदे सहमति नै षडयन्त्र भएको बताउदै उनले सहमतिमा आफूहरुको कुनै माग सम्बोधन नभएकाले माग सम्बोधन नभएसम्म आन्दोलन र अनशन जारी रहने भनाई राखे ।

आन्दोलनरत नर्सहरुले नर्सिङ संघकी अध्यक्ष एवं पूर्वएमाले नेताका पत्नी तारा पोखरेललाई केन्द्रको नर्सिङ्ग प्रमुख बनाउने षडयन्त्र अनुसार ७० प्रतिशत माग पुरा भएको हल्ला फैलाएर झुक्याएर केही व्यक्तिको रोहबरमा सम्झौता भएपनि आन्दोलनरत नर्सहरुले भने सहमति नमान्ने जनाउदै आन्दोलन जारी रहेको बताएका छन् ।

विगत १३ दिन देखि अनशनरत दुवै नर्सको स्वास्थ्य अवस्था जटिल बनेको छ । अनशनरत नर्स दिक्की शेर्पालाई अहिले ओम अस्पतालको आईसीयूमा लगेको भर्ना गरिएको बताईएको छ ।  केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले तत्कालिन एमालेका नेता योगेश भट्टराईको आडमा आन्दोलनकारीलाई झुक्याएर तारा पोखरेललाई केन्द्रको नर्सिङ्ग विभागको निर्देशक बनाउने षडयन्त्र गरेकाले नर्सिङ्ग संघले समेत नर्सहरुको आन्दोलनलाई भ्रम फैलाउने काम गरेको रहस्य बाहिर आएको छ ।

आफ्नो फाईदाका लागि चतुर व्यबहार गर्ने र जो संगपनि प्रलोभनमा पारेर सम्बन्ध अगाडि बढाउने गर्दै आएका श्रेष्ठले अहिले नर्सको आन्दोलन तुहाउन नर्सिङ्ग संघलाई प्रलोभनमा पारेर अध्यक्षलाई निर्देशन बनाउने गरि आन्दोलन तुहाउने षडयन्त्र गरेको बताईएको छ ।