बाग्मती

पोखरी पुनःनिर्माण सिक्न ललितपुरको टोली भक्तपुरमा

भादगाउँ । काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा दक्ष प्राविधिक जनशक्ति सहयोग गरेको भक्तपुर नगरपालिकाका पदाधिकारीहरुसँग ललितपुर महानगरपालिकाका प्रतिनिधिमण्डलले बुधबार भेट गर्दै पोखरी जिर्णोद्धारका बारेमा जानकारी लिएका छन् ।

ललितपुर महानगरपालिका–५ स्थित न्हुँपुखु पुनःनिर्माणका लागि त्यस वडाका सदस्य अशोककुमार श्रेष्ठ नेतृत्वको टोलीले भक्तपुर नगरप्रमुख सुनिल प्रजापति लगायतसँग भेटघाट तथा छलफल गरेको हो । भेटमा नगरप्रमुख प्रजापतिले पोखरी जिर्णोद्धार तथा पुनःनिर्माण गर्दा पोखरीको ऐतिहासिकता र मौलिकता जोगाउनुपर्ने बताए । उनले न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीलाई पुनःनिर्माण कार्य गर्दा मौलिक स्वरुप कायम गर्न, उपभोक्ता समिति मार्फत नै पुनःनिर्माण गर्न, आर्थिक अनुशासन, पारदर्शिता र इमानदारी कायम हुनेगरी समितिबाट निर्णय गरेर मात्र कार्य अगाडि बढाउनुपर्ने सुझाव दिए।

उनले भक्तपुरको प्रसिद्ध भाज्या पुखु पुनःनिर्माणमा ऐतिहासिक र प्राविधिक अध्ययन अनुसन्धान गरी उत्खननबाट भेटिएका अवशेषको आधारमा पोखरीको बीचको मन्दिरको डिजाइन गरी पुनःनिर्माण कार्य अगाडि बढाइरहेको जानकारी दिए। नगरप्रमुख प्रजापतिले पोखरी जिर्णोद्धारको क्रममा पानी चुहिने समस्या समाधान गर्न पोखरीको छेउमा पाँच फिट गहिराइको खाल्टो खनी कालीमाटी भरेर उपभोक्ता समितिमार्फत मौलिकता जोगिने गरी कार्य गरिरहेको बताए।

उनले सम्पदा संरक्षण र विकास निर्माणको कार्य उपभोक्ता समितिमार्फत गर्दा अपनत्व कायम हुने, स्थानीयलाई रोजगारको अवसर सिर्जना हुने र मौलिकता संरक्षण हुने उल्लेख गर्दै विसं २०७२ को भूकम्पले क्षति पु¥याएका भक्तपुर नगरका सम्पदामध्ये ८३ सम्पदा परम्परागत सीप र शैलीमा पुनःनिर्माण भइसकेको र ३२ सम्पदा पुनःनिर्माण भइरहेको जानकारी दिए।

उनले नगरका निजी आवासीय घर परम्परागत शैलीमा निर्माण गर्ने नगरवासीलाई मोहडामा प्रयोग हुने काठ, इँटा र झिँगटीको लागतमा ३५ प्रतिशत अनुदान दिइरहेको जानकारी समेत दिए। भेटमा न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीहरूले भक्तपुर नगरपालिकाको सिद्धपोखरी र भाज्या पोखरी लगायतका पोखरीको संरक्षणको अनुभवबाट सिकेर न्हुँपुख पुनःनिर्माण गर्ने उद्देश्य रहेको बताए।

टोलीमा न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीहरु सतिरानारायण जोशी, विभूषण विष्ट, तारकसिहं बस्नेत, डा. विजयकृष्ण श्रेष्ठ, रामकृष्ण महर्जन, मणिरत्न शाक्य एवं भाज्या पोखरी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद दुमरुको पनि उपस्थिति रहेको थियो ।