बाग्मती

स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।

यसैगरी बुधबार नै बसेको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा विभूषण पदक प्रदान गर्न सिफारिसको व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि छलफलको लागि प्रस्ताव राखेका थिए। उक्त विधेयकको प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले देशका लागि मन, वचन, कर्मले योगदान दिने व्यक्ति वा संस्था र निजामती कर्मचारीलाई योगदानको आधारमा मापदण्ड बनाई विभूषण प्रदान गर्दा सबै देशवासीले सम्मान प्रकट गर्न लायक हुनुपर्ने सुझाव प्रस्तुत गरेका थिए।

उनीहरुले विभूषण प्रदान गर्दा योगदान गरिएको भए पनि दलगत स्वार्थलाई हेरी वञ्चित गर्न नहुने र भ्रष्टाचारमा आरोपी, महिला हिंसा, जातीय छुवाछुत प्रथालाई प्रोत्साहन गर्ने व्यक्तिलाई विभूषण सिफारिस गर्न नहुने थप सुझाव राखेका थिए। आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कट्टेलले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गर्ने एवं सबै नेपालीलाई साझारूपमा सम्मान गर्ने विचारबाट प्रेरित व्यक्ति वा समूहलाई योगदान गरेको आधारमा मापदण्ड बनाई निष्पक्ष एवं पारदर्शी ढङ्गबाट विभूषणको सिफारिस गर्ने र विभूषित हुने व्यक्तिलाई वादविवादबाट अलग राखी सम्मानजनक ढङ्गबाट व्यवहार गरिने विश्वास व्यक्त गरे।

प्रदेशसभाको बैठकमा आव २०७६/७७ का लागि विनियोजित बजेटको सैद्धान्तिक र प्राथमिकता बारे पनि प्रदेशसभाका १७ सदस्यले आ–आफ्नो सुझावहरु प्रस्तुत गरेका थिए। उनीहरुले बजेटको विनियोजित शीर्षकमा आदिवासी जनजाति, दलितलाई उत्थान गर्ने प्याकेज कार्यक्रम ल्याई समेटिनुपर्ने र उच्च शिक्षा अध्ययन र स्वास्थ्य क्षेत्रमा समावेशी कोटाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे। उनीहरुले उपेक्षित वर्गलाई पनि निजामती र परराष्ट्र सेवामा प्रवेश गर्न सहज वैकल्पिक बाटो अपनाउन र नीतिगत कार्यक्रममा समेटिन आह्वान गरे।

गणतन्त्र दिवस समारोह समिति गठन

एघारौँ गणतन्त्र दिवस प्रदेश नं ३ को हेटौँडामा जेठ १४, १५ र १६ गते भव्यरूपले मनाउन ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा ४११ सदस्यीय गणतन्त्र दिवस मूल समारोह समिति बुधबार गठन गरिएको छ ।

उक्त समारोह समितिलाई सहयोग पुर्‍याउन विभिन्न पाँच उपसमिति पनि गठन गरिएको छ । प्रचारप्रसार उपसमितिको संयोजकमा आन्तरिक मामिला तथा कानून सालिकराम जम्कट्टेल, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने उपसमितिको संयोजकमा सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रभातफेरी एवं सजावट उपसमितिको संयोजकमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा नगरको सरसफाइको उपसमितिको संयोजकमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मञ्च सजावट र व्यवस्थापनको उपसमितिको संयोजकमा मकवानपुरका प्रजिअ आस्मान तामाङ रहेका छन्।